Headline

मेस्सीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

Published

on

अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलमा मेस्सीले ८ मिनेटमै अग्रता दिलाए पनि क्लेमेन्ट लेँगेटको आत्मघाती गोलले गेटाफे खेलमा फर्किएको थियो । गेटाफे गोलकिपर डेभिड सोरियासँग असमझदारीका कारण डिफेण्डर चाक्लाले आत्मघाती गोल गर्दा बार्साले २८ औं मिनेटमा अग्रता फर्काएको थियो ।

मेस्सीले ३३ औं मिनेटमा गोल गरेपछि बार्साले अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा एनेस उनाइले पेनाल्टीमा गोल गर्दै गेटाफेलाई केही आशा त दिलाए तर रोनाल्ड अरुजोले ८७ र एन्टोइन ग्रिजमनले थप गरिएको तेश्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्साको जित फराकिलो बनाएका थिए ।

ला लिगामा मेस्सी यो सिजन पनि २३ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा पहिलो नम्बर मै छन् । भिलारियालका जेरार्ड मोरेनोको २० र एट्लेटिको गएका मेस्सीको पुर्व बार्सिलोना टिम मेट लुईस सुवारेजको १९ गोल छ । रियल म्याड्रिडका करिम बेन्जेमाले १८ गोल गरेका छन् ।

एक खेल कम खेलेको बार्सिलोनाले शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी ५ अंकमा छोट्याएको छ । हुवेस्कालाई बिहिबार नै २–० ले हराएको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ । समान खेलबाट दोश्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ ।

एट्लेटिको र बार्सिलोना मे ८ मा खेल्ने छन् । बिहिबार नै भएका अन्य खेलमा ग्रानडाले आईबारलाई ४–१ र रियल सोसिडाडले सेल्टा भिगोलाई २–१ ले हरायो ।

Click to comment

Trending