Headline

करण केसीले १३ बलमै ४५ रन ठोकेपछि नेपालको मलेसियाबिरुद्ध बिशाल योगफल

Published

on

करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो सर्वाधिक ठूलो योगफल बनाएको छ ।

त्रिवि मैदानमा जारी त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा करण १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले मलेसियालाई ७ विकेटको क्षतिमा २ सय १७ रन प्रहार गरेको छ ।

नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो ।

करणले बिष्फोटक पारी खेल्दै कुशल मल्लसँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए । आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए ।

आसिफले ३२ बलमा ४२ रन बनाएका । उनले तीन चौका र तीन छक्का हिर्काए । नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए । उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए । १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए ।

सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए । अजिजले अन्तिम ओभरमा सोमपाल कामीलाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए ।

Click to comment

Trending