Headline

कमल सिँह ऐरिले पाए नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युको मौका

Published

on

मलेसियाबिरुद्ध हुने त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको अन्तिम लिग खेलमा नेपालबाट मिडियम पेस बलर कमल सिँह ऐरिले डेब्यु गर्ने भएका छन् ।

अहिले केही बेरमा शुरु हुन गइरहेको खेलमा कमललाई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु क्याप दिइएको हो । कमललाई नेपाली क्रिकेट टोलीका व्यवस्थापक प्रकाश पौडेलले डेब्यु क्याप थमाएका हुन् ।

नेपालका लागि यो श्रृंखलाबाट चार जना युवा खेलाडीले डेब्युको मौका पाएका छन् । नेदरल्याण्ड्सबिरुद्धको पहिलो खेलबाट कुशल भुर्तेल, शाहब आलम र आसिफ शेखले डेब्यु गरेका थिए । कमलले कसको स्थान लिएका हुन् यो भने खुलेको छैन ।

नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेका कारण आजको खेलमा परिवर्तनको अपेक्षा गरिएको थियो ।

कमलले राष्ट्रिय टोलीबाट नै डेब्यु गरिसकेका छन् । उनले जनवरी, २०२० मा नेपालमै भएको आईसिसि बिश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिका सम्मिलित ट्राई सिरिजबाट राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका थिए ।

ओमानबिरुद्ध खेलेका कमलको त्यो नै नेपाली टोलीका लागि एक मात्र खेल हो । नेपालले पहिलो खेलमा मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । मलेसियाले नेदरल्याण्ड्सबिरुद्धको पहिलो खेलमा हारको सामना गरेको थियो भने दोश्रोमा बुधबार बराबरी गरेको थियो ।

Click to comment

Trending