Headline

रोनाल्डो फर्कदा युभेन्टसको जित, इन्टर बराबरीले पनि मजबुत

Published

on

निकटतम प्रतिद्वन्दी एसि मिलान सासुलोसँग घरमै २–१ ले पराजित भएपछि इटालियन सिरी आ लिडर इन्टर मिलानले स्पेजियासँग १–१ गोलको बराबरीका बावजुद शिर्ष स्थानमा १० अंकको अग्रता कायम गरेको छ ।

युरोपियन सुपर लिगले बिश्व फुटबलमा खैलाबैला मच्चाएको दिन युभेन्टस भने पार्मालाई ३–१ ले पराजित गर्दै मिलानसँग एक अंकको दुरीमा रहदै तेश्रो स्थानमा उक्लन सफल भएको छ । शिर्ष तीन स्थानमा रहेका इटालियन क्लबहरु युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिन बाध्य गरिएका थिए ।

“खेलाडीको रुपमा हाम्रो दिमागमा खेल मात्र थियो । इमान्दारीपुर्वक भन्ने हो भने हाम्रो लागि केही परिवर्तन भएको छैन । हाम्रो लागि आज पाएको तीन अंक महत्वपूर्ण छ,” पार्माबिरुद्ध दुई गोल गरेका युभेन्टस डिफेण्डर एलेक्स सान्द्रोले भने ।

एन्टोनियो कोन्टेको इन्टरका लागि भने यो लगातार दोश्रो बराबरी हो । उसले नापोलीसँग पनि गत साता बराबरी खेलेको थिए । दुई खेलमा चार अंक गुमाएको इन्टरलाई एसि मिलानको अप्रत्यासित हारले भने फाइदा पुगेको हो, र युभेन्टसलाई पनि ।

यसअघिको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो नहुँदा युभेन्टस पराजित भएको थियो । तर बुधबार उनको आगमनसँगै आन्द्रे पिर्लोले महत्वपूर्ण जित हात पारेको हो । युभेन्टसले यो सिजन व्यहोरेको पाँच मध्ये तीन हारमा रोनाल्डो अनुपस्थित रहेका थिए ।

सान सिरोमा १२ औं मिनेटमै डिएगो फारियासले गोल गर्दै स्पेजियाले इन्टरलाई स्तब्ध पारेको थियो । इभान पेरिसिचले ३९ औं मिनेटमा असरफ हकिमीको पासमा गोल गर्दै इन्टरको हार टारेका थिए । पेरिसिच इन्टरका लागि २ सयौं खेल खेलिरहेका थिए ।

यो सिजन उपाधि हातबाट लगभग फुस्किसकेको अवस्थामा युभेन्टसका लागि अब च्याम्पियन्स लिगमा छनोट हुने अवसर फर्किएको छ । शिर्ष तीन टोलीको ६ खेलमात्रै बाकी रहेको स्थितिमा इन्टर ७६ अंकका साथ १० बर्षमा पहिलो उपाधि नजिक रहेको छ ।

एसि मिलानको ६६ र युभेन्टसको ६५ अंक छ । बिहिबारको खेलमा एटलान्टाले एएस रोमालाई पराजित गर्न सकेको खण्डमा उ दोश्रो स्थानमा उक्लनेछ भने युभेन्टस पुन चौथोमा धकेलिने छ ।

Click to comment

Trending