अन्तर्राष्ट्रिय

कोलकाता माथि सनसनीपूर्ण जित निकाल्दा चेन्नाई अंक तालिकाको पहिलो स्थानमा

Published

on

कोलकाता नाइट राईडर्स माथि १८ रनको सनसनीपूर्ण जित निकाल्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स १४ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) को अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

चेन्नाई नेट रन-रेटका आधारमा पहिलो स्थानमा उक्लिए पनि दोश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर भन्दा एक खेल बढी खेलेको छ । चेन्नाईले चार खेलमा छ अंक बटुलेको छ भने बेंगलोरको तीन खेलमा छ अंक छ ।

चेन्नाईले दिएको २२१ रनको कठिन लक्ष्य पक्ष्याएको कोलकाताले १९ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

एक समय ३१ रनमा पाँच विकेट गुमाएर लज्जास्पद हार तर्फ लम्केको कोलकाताको लागि आन्द्रे रसेल र दिनेश कार्तिकले ३९ बलमा ८१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । २२ बलको सामना गरेका रसेलले तीन चौका र छ छक्काको मद्धतमा ५४ तथा कार्तिक २४ बलमा ४० रन जोड्दै पेभेलियन फर्किए ।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका प्याट कमिन्सले ३४ बलमा चार चौका र छ छक्काको मद्धतमा ६६ रन बनाए पनि जित दिलाउन भने असमर्थ रहे ।

कोलकाताका ओपनर शुबमन गिल गोल्डेन डक-आउट भए भने नितिश राना, राहुल त्रिपाठी, ओइन मोर्गन र सुनिल नारायण क्रमश नौं, आठ, सात र चार रन जोड्दै पेभेलियन फर्किए । कोलकाताका सुरुवाती चार जना ब्याट्सम्यानलाई पेभेलियन फर्काएका दिपक चाहारले सर्वाधिक चार विकेट लिए भने भने लुंगी एनगिदीले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।

फाफ डु प्लेसिसले आक्रमक पारी खेले पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २२० रनको विशाल योगफल तयार पार्न सफल भयो ।

६० बलको सामना गरेका डु प्लेसिसले नौं चौका र चार छक्काको मद्धतमा सर्वाधिक ९५ रन जोडे । शतक बनाउनबाट मात्र पाँच रनले चुकेका उनले पहिलो विकेटका लागि रुतुराज गाइकवाडसँग मिलेर ७७ बलमा ११५ रनको साझेदारी गर्दै चेन्नाईलाई निकै राम्रो सुरुवात दिए । ४२ बल खेलेका गाइकवाडले ६४ रन बनाए ।

त्यस्तै डु प्लेसिसले दोश्रो विकेटका लागि मोएन अली (१२ बलमा २५ रन) सँग २७ बलमा ५०, तेश्रो विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी (आठ बलमा १७) सँग १९ बलमा ३६ रन तथा तेश्रो विकेटका लागि एक बलमा अविजित छ रन बनाएका रविन्द्र जडेजासँग छ बलमा अविजित १९ रनको साझेदारी गरे ।

Click to comment

Trending