Headline

नेदरल्याण्ड्सबिरुद्ध इतिहास रच्न चुक्यो मलेसिया

Published

on

बर्षाका कारण दुई पटक बिथोलिएको खेल बराबरीमा टुङ्गिएपछि मलेसिया आफ्नो क्रिकेट इतिहासकै पहिलो ठूलो जित रच्नबाट चुकेको छ । दोश्रो पटक बर्षा भएपछि मलेसियाका लागि १० ओभरमा छोट्याइएको खेलमा ९२ रन जितको लागि पछ्याउदा ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सक्किएको थियो ।

दुई पटकको अवरोधका कारण खेलमा कट अफ टाइम समाप्त भइसकेको कारण सुपर ओभर हुन सकेन । नेदरल्याण्ड्सले १० दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा ६८ रन बनाउदा डेढ घण्टा खेल रोक्किएपछि खेल १३ ओभरमा झारिएको थियो ।

नेदरल्याण्ड्सले बेन कुपरको अद्र्धशतकमा प्राप्त अन्तिम १६ बलमा ४२ रन ठोकेपछि चार विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो । डकवर्थ लेविस सिस्टम अनुसार मलेसियाले १३ ओभरमा १ सय २० रनको लक्ष्य पाएको थियो ।

निकै नै आक्रमक शुरुवात गरेको मलेसियाले ६ ओभरमै ५६ रन बनाएको थियो । त्यसपछि फेरि खेल रोकिएको थियो । त्यही समय खेल नभएको खण्डमा मलेसियाले ९ रनले खेल जित्ने थियो ।

तर पानी थामिएपछि खेलमा थप तीन ओभर घटाइयो र मलेसियालाई १० ओभरमा ९२ रनको लक्ष्य दिइएको थियो । बिरनदिप सिँहले आठौं ओभरमा बास डि लिडेलाई तीन चौका प्रहार गर्दै १५ रन बटुलेपछि मलेसयालाई अन्तिम १२ बलमा १७ रन चाहिएको थियो । अर्को ओभरमा सेबाष्चियन ब्राटले पहिलो तीन बलमा एक रनमात्र खर्चिदै बिरनदिपलाई आउट गरेपछि अन्तिम ९ बलमा १६ रन आवश्यक रहेको थियो ।

अमिनुदिन राम्लीले आउने बित्तिकै छक्का प्रहार गरेपछि मलेसिया फेरि खेलमा फर्किएको थियो । नवौं ओभरमा ९ रन बनाएको मलेसियालाई अन्तिम ६ बलमा ७ रन आवश्यक रहेको थियो । भिभियन किँगमाले दुई वटा वाइड दिएपनि ५ रनमात्रै खर्चिएका थिए ।

मलेसियाका लागि सैयद अजिजले २६ बलमा ३० रन र अनवर अरुदिनले १७ बलमा २३ रन जोडेका थिए । विरनदिपले १४ रन बनाए । ब्राटले नेदरल्याण्ड्सका लागि दुई विकेट मात्र लिए ।

एक दिन अघि नेपालबिरुद्ध २ सय ७ रनको किर्तिमानी लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई मलेसियाले उत्कृष्ट बलिङ्ग गर्दै दवाबमा राखेको थियो । स्पिनर पवनदिप सिँहले पहिलो ओभरमै टोबियस भिसेलाई शुन्यमै आउट गरेका थिए भने मुहम्मद वफिकले तीन बलको अन्तरमा दुई विकेट लिदा नेदरल्याण्ड्सले २२ रनमै तीन विकेट गुमाएको थियो ।

यस क्रममा वफिकले पहिलो खेल खेलिरहेका बिक्रमजित सिँह र नेपालबिरुद्ध ४१ रन बनाएका बास डि लिडेको महत्वपूर्ण विकेट लिएका थिए । त्यसपछि बेन कुपर र कप्तान पिटर सिलारले ६६ रनको साझेदारी गरेका थिए ।

१० दशमलव २ ओभरमा बर्षा बाधक भएपछि खेल झण्डै डेढ घण्टा रोक्किएपछि खेल १३ ओभरमा झारिएको थियो । डिएल प्रणालीमा मेलसियालाई १ सय २० रनको लक्ष्य दिइएको थियो ।

नेदरल्याण्ड्सका लागि कुपरले ३२ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए भने सिलारले ३१ बलमा ३७ रन जोड्दा पाँच चौका प्रहार गरे । नेदरल्याण्ड्सले खेल पुन सुचार भएपछि पाएको अन्तिम १६ बलमा ४३ रन ठोकेको थियो ।

Click to comment

Trending