Headline

नेपालले नेदरल्याण्ड्सबिरुद्ध बिशाल योगफल बनाउदा कुशलको बिश्व किर्तिमान, दिपेन्द्रको ताबडतोड ब्याटिङ्ग

Published

on

कुशल भुर्तेलले डेब्युमै लगातार तीन अद्र्धशतक प्रहार गर्ने बिश्व किर्तिमान कायम गर्नुका साथै दिपेन्द्र सिँह ऐरिले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक बनाउदा नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा नेदरल्याण्ड्सलाई २ सय ७ रनको बिशाल लक्ष्य दिएको छ ।

दर्शकलाई प्रवेश नदिइएको त्रिवि मैदानमा नेपालले ६ विकेटको क्षतिमा २ सय ६ रन बनायो । यो श्रृंखलामा पहिलो पटक कुशल र आसिफ शेखको साझेदारी नबनेपनि नेपालले नेदरल्याण्ड्सबिरुद्धको अहिलेसम्मकै सर्वाधिक योगफल बनायो । यस क्रममा कुलशले ४१ बलमा ६२ र दिपेन्द्रले ३० बलमै ६० रन ठोकेका थिए ।

कुशल ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमा लगातार तीन अद्र्धशतक बनाउने बिश्वकै पहिलो खेलाडी बने । उनले इङ्गल्याण्डका डेविड मलनको किर्तिमान तोडेका हुन् । मलनले डेब्यु प्रतियोगितामा लगातार दुई अद्र्धशतक प्रहार गरेका थिए ।

नेपालले दोश्रो ओभर भित्रै २० रन जोड्दा आसिफलाई शुन्यमै गुमाएको थियो । कुशलले सधै जसरी आक्रमक शुरुवात नै दिलाएका थिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोश्रो विकेटका लागि ४३ रन जोडेका थिए ।

ज्ञानेन्द्रले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा २० रन बनाए । दिपेन्द्र र कुशलले नेपालका लागि महत्वपूर्ण साझेदारी गर्दै तेश्रो विकेटका लागि ७८ रन जोडेका थिए । दिपेन्द्रले निकै आक्रमक इनिङ्गस खेल्दा कुशल अद्र्धशतक नजिक पुगेपछि सम्हालिएर खेल्न थाले । उनले फ्रि हिटमा छक्का प्रहार गर्दै अद्र्धशतक पुरा गरेका ।

कुशलको इनिङ्गसमा ८ चौका र एक छक्का सामेल थियो । दिपेन्द्रले २८ बलमै अद्र्धशतक ठोकेका थिए । उनले नेदरल्याण्ड्स कप्तान पिटर सिलारलाई छक्का प्रहार गरेका दिपेन्द्र लगातार तीन छक्का हान्ने धुनमा आउट भए ।

कुशल मल्ले ७ बलमा १८ रन बनाउदा सबै रन छक्काबाटै बटुलेपछि नेपाल बिशाल योगफलतर्फ अग्रसर भएको थियो । नेपालले कुशल र करण केसीलाई दुई रनको अन्तरमा गुमाएपछि अन्तिम ओभर तिर नेदरल्याण्ड्सले इनिङ्गसमा नियन्त्रण राख्न सफल भएको थियो ।

अन्तिम ओभरमा नेपालले १२ रन जोडेको थियो । सोमपाल कामीले १३ बलमा दुई चौका र एक छक्काको मद्दतमा २१ रन बनाए ।

Click to comment

Trending