Headline

ग्रिनउड चम्किएपछि युनाइटेडको बर्नलीमाथि ३–१ को जित

Published

on

मेसन ग्रिनउड नायक बनेपछि म्यानचेस्टर युनाइटेड इङ्गलिस प्रिमियर लिगमा बर्नलीसँग बराबरीबाट जोगिएको छ । आइतबार युनाइटेडले बर्नलीलाई ३–१ ले पराजित गर्यो ।

ओल्ड ट्राफोर्डमा रेलिगेसन जोनबाट एक स्थानमात्रै माथि रहेको बर्नलीले ८४ औं मिनेटसम्म खेललाई बराबरीमा राखेको थियो । पउल पोग्बाको असिस्टमा गोल गर्दै ग्रिनउडले युनाइटेडलाई अनपेक्षित बराबरीबाट बचाएका थिए ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा ग्रिनउडले नै मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै जेम्स टार्कोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको अन्तिम समयमा स्कट म्याकटोमिने गोल गर्न चुके तर ९३ औं मिनेटमा एडिन्सन काभानीले युनाइटेडको जितलाई फराकिलो पारि छोडेका थिए ।

जितपछि लिगमा ६ खेलमात्र बाकी रहेको स्थितिमा युनाइटेडले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दुरी ८ अंकमा छोट्याएको छ । सिटीको ७४ र युनाइटेडको ६६ अंक रहेको छ ।

रेलिगसन जोनमा रहेको फुलह्यामले आर्सनललाई बराबरीमा रोकेपछि ३३ अंक रहेको बर्नलीलाई आफू जोगिन मिहिनेत गर्नु पर्ने आवश्यकता कायम रहेको छ । फुलह्यामको २७ अंक छ ।

आइतबार नै भएको पहिलो खेलमा एडी एनकेटियाहले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै स्तब्धपूर्ण हारबाट जोगाएका थिए । जोस माजाले फुलह्यामलाई ५९ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दिलाएका थिए । आर्सनल ४६ अंकसहित नवौं स्थानमा रहेको छ ।

Click to comment

Trending