Headline

मलेसियाबिरुद्ध अनपेक्षित हारबाट बाल–बाल बच्यो नेदरल्याण्ड्स

Published

on

म्याक्स ओ डाउडले डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि नेदरल्याण्ड्सले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा मलेशियालाई १५ रनको झिनो अन्तरले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले ओ डाउडको ७३ बलमा १ सय ३३ रनको मद्दतमा २० ओभरमा दुई विकेट गुमाउदै १ सय ९१ रनको बिशाल योगफल खडा गर्यो ।

बिरनदिप सिँहले उत्कृष्ट ब्याटिङ्ग गर्दै मलेसियालाई खेलमा कायमै राखेपनि उनको विकेट लिएसँगै नेदरल्याण्ड्सले जित हात पारेको थियो । मलेसियाले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७६ रनको सम्मानजनक योगफल बनायो ।

अन्तिम दुई ओभरमा ३७ रन चाहिएको अवस्थामा बिरनदिपले सेबाष्चियन ब्राटलाई पहिलो दुई बलमा लगातार दुई छक्का प्रहार गर्नुका साथै दुई रन बटुलेपछि मलेसियालाई अन्तिम ९ बलमा २३ रनको आवश्यकता रहेको थियो ।

बिरनदिपले मलेसियाका लागि उत्कृष्ट ब्याटिङ्ग गर्दै ५३ बलमा ८७ रन बनाएका थिए ।

तर ब्राटको चौथो बलमा अर्को ठूलो शट खेल्ने प्रयासमा एज लागेपछि उनलाई टोबियास भिसले शर्ट थर्डम्यानमा उत्कृष्ट डाइभिङ्ग क्याच लिदै उनको इनिङ्गसमा समाप्त गरेका थिए । बिरनदिपले ५३ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ८७ रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डि लिडे र ब्राटले दुई–दुई विकेट लिएका थिए ।

यसअघि ओ डाउडले किर्तिपुरमा ५९ बलमै शतक पुरा गरेका ओपनर ओ डाउड पूर्ण रुपमा मलेसियन बलरहरुमाथि हावी भएका थिए । उनले कुल १५ चौका र ६ छक्का प्रहार गरे । उनले तेश्रो विकेटका लागि बेन कुपर (२०) सँग १ सय २५ रनको नटआउट साझेदरी गरेका थिए ।

शनिबार नेपालसँग ९ विकेटले पराजित भएको खेलमा ओ डाउड १० रनमै सन्दिप लामिछानेको बलमा आउट भएका थिए ।

नेदरल्याण्ड्सको ट्वान्टी ट्वान्टी इतिहासमा यसअघिको सर्वाधिक ठूलो योगफल ९६ रन नटआउट रहेको थियो । यो किर्तिमान बर्तमान कप्तान पिटर सिलारको रहेको थियो ।

ओडाउड बाहेक स्कट एडवार्ड्सले २३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए । पहिलो खेल खेलेको मलेसियाको लागि पवनदिप सिँह र अनवर रहमानले १–१ विकेट लिएका थिए

Click to comment

Trending