Headline

म्याक्स ओ डाउडले त्रिवि मैदानमा रचे डच ट्वान्टी ट्वान्टी इतिहास

Published

on

म्याक्स ओ डाउड डच क्रिकेट इतिहासमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याट्स्म्यान बनेका छन् । ओ डाउडले किर्तिपुरमा जारी त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा मलेसियाबिरुद्धको खेलमा आक्रमक शतक प्रहार गरे ।

५९ बलमै शतक पुरा गरेका ओपनर ओ डाउडले पूर्ण रुपमा मलेसियन बलरहरुमाथि हावी हुदै ७३ बलमा १ सय ३३ रन बनाएपछि नेदरल्याण्ड्सले २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १ सय ९१ रनको बिशाल योगफल बनायो ।

उनले कुल १५ चौका र ६ छक्का प्रहार गरे । उनले तेश्रो विकेटका लागि बेन कुपर (२०) सँग १ सय २५ रनको नटआउट साझेदरी गरेका थिए । शनिबार नेपालसँग ९ विकेटले पराजित भएको खेलमा ओ डाउड १० रनमै सन्दिप लामिछानेको बलमा आउट भएका थिए ।

नेदरल्याण्ड्सको ट्वान्टी ट्वान्टी इतिहासमा यसअघिको सर्वाधिक ठूलो योगफल ९६ रन नटआउट रहेको थियो । यो किर्तिमान बर्तमान कप्तान पिटर सिलारको रहेको थियो ।

ओडाउड बाहेक स्कट एडवार्ड्सले २३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए । पहिलो खेल खेलेको मलेसियाको लागि पवनदिप सिँह र अनवर रहमानले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending