Headline

नेपालको ट्वान्टी ट्वान्टीमा अहिलेसम्मकै हेर्न लायक ब्याटिङ्ग प्रदर्शन, कुशल, आसिफको डेब्युमै हाफ सेन्चुरी

Published

on

कुशल भुर्तेल र आशिफ शेखले किर्तिमानी साझेदारी गर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमै आकर्षक अद्र्धशतक प्रहार गरेपछि नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी श्रृंखलामा शानदार शुरुवात गरेको छ ।

दुवै ब्याट्स्म्यानले पहिलो विकेटका लागि १ सय १६ रनको किर्तिमानी साझेदारी गर्दा नेपालले दर्शकले खचाखच भरिएको त्रिवि मैदानमा नेदरल्याण्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

सन्दिप लामिछनेले दुई विकेट लिनुका साथै अन्य बलरहरुले कसिलो बलिङ्ग गरेपछि नेदरल्याण्डसले २० ओभरमा चार विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो । जवाफमा नेपालले १५ ओभरमै मात्र एक विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो ।

निकै नै आक्रमक ब्याटिङ्ग गरेका कुशलले ३० बलमै अद्र्धशतक प्रहार गरेका थिए । उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । अर्को ठूलो शट खेल्ने चक्करमा उनी जुलियन डे मेको बलमा आउट भएका थिए ।

त्यसपछि आसिफले फिलिपे बोसेभेनको बलमा छक्का प्रहार गर्दै ३६ बलमा अद्र्धशतक प्रहार गरेका थिए । उनले चार छक्का र चार चौका प्रहार गरे । आसिफले ३८ बलमा ५४ रन बनाए ।

आसिफ र कुशलले पुर्व कप्तान पारस खड्का र हालका कप्तान ज्ञानेन्द्र मल्लले गरेको १ सय ८ रनको पहिलो विकेटको लागि किर्तिमानी साझेदारी तोडेका थिए । बिजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्रले ७ बलमा १३ रन बनाए ।

दर्शकहरुले खचाखच भरिएको त्रिवि मैदानमा नेपालले कुनै पनि समय पहिलो पटक नेपालमा खेलिरहेको नेदरल्याण्डस्सलाई खुलेर खेल्न दिएको थिएन । सन्दिपले आफ्नो पहिलो र टिमको दोश्रो ओभरमै म्याक्स ओ डाउडलाई पेभिलियन फर्काए भने सोमपाल कामीले बेन कुपरलाई शुन्यमै पेभिलियन फर्काएका थिए ।

अर्का ओपनर स्कट एडवार्ड्स र बास डि लिडेले तेश्रो विकेटका लागि ६१ रन जोड्दै नेदरल्याण्ड्सको इनिङ्गस सम्हाल्ने प्रयास गरेका थिए । नेदरल्याण्ड्सले केही आकर्षक शटहरु प्रहार गरेपनि नेपालले हरेक समय बलिङ्गमार्पत पुनरागमन गरेको थियो ।

डि लिडेले ४९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाए । एडवार्ड्सले ३२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३० रन बनाए । कप्तान पिटर सिलार (२२) र एन्टोनियस स्टाल (२०) ले पाचौं विकेटको लागि ३६ रन जोडेका थिए ।

नेपालका लागि सन्दिपले चार ओभरमा २२ रन खर्चदै दुई विकेट लिए भने सोमपालले कसिलो बलिङ्ग गर्दै १३ रन मात्र खर्चिएका थिए । डेब्यु गरेका शाहब आलमले एक विकेट लिएपनि उनले चार ओभरमा ४५ रन खर्चिएका थिए ।

पहिलो तीन ओभरमा पाँच रन मात्र दिएका करण केसीले आफ्नो अन्तिम ओभरमा १७ रन खर्चिएका थिए । अविनश बोहोराले चार ओभरमा २५ रन दिएका थिए ।

Click to comment

Trending