अन्तर्राष्ट्रिय

दिल्ली माथि राजस्थानको रोमान्चक जित

Published

on

दिल्ली क्यापिटल्स माथि तीन विकेटको रोमान्चक जित निकाल्दै राजस्थान रोयल्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो जित दर्ता गराएको छ ।

दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले सात विकेट गुमाएर दुई बल अगावै जित दर्ता गराएको हो ।

३६ रनको अवस्थामा चार विकेट गुमाएर खराब सुरुवात गरेको राजस्थानको जितमा डेभिड मिल्लरले ४३ बल खेल्दै सर्वाधिक ६२ रन बनाए भने क्रिस मोरिसले १८ बलमा अविजित ३६ रनको पारी खेले ।

राजस्थानलाई दबाबमा राख्दै अभेश खानले सर्वाधिक तीन तथा क्रिस वक्स र कागिसो रबाडाले सामना २-२ विकेट हात पारे पनि दिल्लीलाई जित भने दिलाउन सकेनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरे पनि कप्तान रिशब पन्तको अर्धशतकको मद्धतमा पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४७ रन मात्र बनाउन सक्यो ।

ओपनरद्वय पृथ्वी श र शिखर धवन क्रमश दुई र नौं रनमा, अजिंक्य रहाने आठ रनमा र मार्कस स्टोइनिस शुन्य रनमा आउट भए पनि कप्तान पन्तले ५१ रन प्रहार गर्दै दिल्लीको पारी सम्हालेका थिए । ३२ बलको सामना गरेका पन्तले नौं चौका प्रहार गरे ।

पन्त बाहेक दिल्लीको लागि टम कर्रनले २१, ललित यादवले २० तथा क्रिस वक्सले अविजित १५ रनको योगदान दिए ।

राजस्थानका जयदेव उनादकटले चार ओभरमा १५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने मुस्तफिजुर रहमानले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending