Headline

छलफल बिनै क्रिकेट टोलीको जर्सी सार्वजनिक गरेको भन्दै क्यान भित्रै असन्तुष्टि

Published

on

तीन दिन अघि सार्वजनिक भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्रै असन्तुष्टि पैदा भएको छ । क्यान केन्द्रिय सदस्य छुम्बी लामाले क्यान भित्र कुनै छलफल बिनै जर्सी सार्वजनिक हुँदा आश्चर्यमा परेको बताउदै त्यसको बिरोध गरेका छन् ।

लामाले फेसबुकमा एक पोस्टमार्फत क्यानले जर्सीमा लापरवाही गरेको आरोप लगाउदै निर्णय सच्याउन समेत आग्रह गरेका छन् ।

“नेपाली सिनियर राष्ट्रिय टोलीको जर्सीको प्रायोजक खोज्नेबारे बोर्ड बैठकमा छलफल भएको सत्य हो। तर, त्यसपछि एकै पटक हालै एउटा कार्यक्रम गरी एउटा कुनै कम्पनीले नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेको देख्दा क्यान बोर्ड सदस्यको रुपमा आश्चर्यमा परेको छु,” लामाले लेखेका छन् ।

गत जनवरीमा क्यानले बिज्ञापन एजेन्सी एएनएस क्रिएसनको कम्पनी एडप्याडलाई राष्ट्रिय क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार बेचेको थियो । उक्त सम्झौता एडप्याडले ५६ लाखमा खरिद गरेको बुझिएको छ ।

एडप्याडले सम्झौता अनुसार नयाँ जर्सी प्रायोजक खोज्ने क्रममा आइएनजी ग्रुप अन्तर्गत रहेको इन्नोभेट टेक सफ्टवेयर कम्पनीको मोबाइल लर्निङ्ग एप्लिकेशन माई सेकेण्ड टिचरसँग मार्च २०२२ सम्मका लागि सम्झौता गरेको थियो । त्यही अनुरुप सोमबार माई सेकेण्ड टिचरले एक फाइभ स्टार होटलमा राष्ट्रिय क्रिकेटरहरुको उपस्थितिमा नै जर्सी सार्वजनिक गरेको थियो ।

“राष्ट्रिय टोलीको जर्सी जस्तो विषय व्यापक छलफल गरेर टुङ्गाउनु पर्ने हो । त्यसको रँग, स्टाइल सबैबारे व्यापक छलफल हुनुपथ्र्याे । अझ त्यसका लागि खुल्ला प्रतिस्पर्धामार्फत डिजाइन मागेर उत्कृष्ट एउटा डिजाइनलाई स्विकृत गर्दा उत्तम हुने थियो । तर, यहाँ बोर्ड सदस्य र सरोकारवालाहरुलाई जानकारीसमेत नदिई जर्सी सार्वजनिक गरिएको छ । नेपाली टोलीले सुरुवातबाटै प्रयोग गर्दै आइरेहको रंग समेत परिवर्तन गरिएको देखिएको छ,” लामाले लेखेका छन् ।

नयाँ जर्सीलाई लिएर सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाउनेहरु धेरै भेटिएका छन् । डिजाइन देखि लिएर रँग र प्रायोजकको लोगोसम्मको बिषयमा धेरै आलोचना हुदै आएको पनि छ ।

“क्यान बोर्ड सदस्यको हैसियतले राष्ट्रिय टोलीको जर्सीमाथि भएको यो लापरवाहीप्रति तिब्र असन्तुष्टी जनाउँदै तत्काल निर्णय सच्याउन आग्रह गर्दछु । पुरस्कारको व्यवस्थासहित खुल्ला प्रतिस्पर्धामार्फत डिजाइन माग गरी राष्ट्रिय टोलीको नयाँ जर्सी निश्चित गर्न माग गर्दछु,” लामाले थप भनेका छन् ।

जर्सीको सम्पूर्ण अधिकार अर्को कम्पनीलाई बेचिसकेको अवस्थामा क्यानले अन्य दुई कम्पनीबीचको सम्झौतामा जर्सीको आवरण देखि लोगोसम्म आफ्नो तर्फबाट स्विकृत हुनु पर्ने कुनै शर्त राखे नराखेको स्पष्ट भने छैन ।

Click to comment

Trending