Headline

बिश्व फुटबलका पारम्परिक पावर हाउसलाई ढाल्दै पृथक बनेको पिएसजीको यात्रा

Published

on

पेरिस सेन्ट जर्माइनको पछिल्लो एक दशकदेखि च्याम्पियन्स लिगसँगको सम्बन्ध निराशाले भरिपूर्ण र अविश्वसनीय हारले छिन्न भिन्न रहदै आएको थियो । तर डिफेन्डिङ्ग च्याम्पियन तथा जर्मन महारथी बायर्न म्युनिखलाई समग्रमा पराजित गरेपछि कतारी युगमा पिएसजी पहिलो पटक उपाधि जित्ने अवस्थामा रहेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले युरोपकै उत्कृष्ट टिम मान्दै आएको बायर्न बिरुद्ध मङ्गलवार गत सिजनको फाइनलको हारको बदला लिदै सेमिफाइनल प्रवेश गरेको छ । एरिक म्याक्सिम चुपो–मोटिङले आफ्नो पुर्व क्लबबिरुद्ध खेलको एक मात्र गोल गर्दै बायर्नलाई १–० को जित दिलाए पनि पहिलो लेगमा ३–२ ले जितेको पिएसजीले अवे गोलका आधारमा सेमिफाइलको यात्रा तय गरेको हो ।

अघिल्लो बर्षहरुमा पिएसजी दवाबमा धराशायी बन्दै्र आएपनि यस पटक भने ठूलो टिमबिरुद्ध नै उसले पुराना गल्ति दोहोर्याएन । २०११ मा कतार स्पोर्ट्स इन्भेष्टमेन्ट्सले टेक ओभर गरेपछि पिएसजी लामो समयदेखि च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो प्रभाव जमाउन संघर्ष गर्दै आएको छ ।

२०१४ को क्वार्टर–फाइनलमा चेल्सीबिरुद्ध पहिलो लेगमा अग्रता लिएपनि पिएसजी दोश्रो लेगको निराशाजनक प्रदर्शनपछि अवे गोलमा बाहिरिन पुगेको थियो । २०१९ को प्रि–क्वार्टरफाइनलमा पनि पिएसजी म्यानचेस्टर युनाइटेडसँग त्यसरी नै पराजित भएको थियो ।

पिएसजीको लागि सबैभन्दा ठूलो बेइज्जती २०१७ को प्रि–क्वार्टरफाइनल रह्यो । बार्सिलोनालाई पहिलो लेगमा ४–० ले पराजित गरेपनि दोश्रो लेगमा स्पेनिस टोलीले ६–१ को सनसनीपूर्ण जित निकाल्दै पिएसजीलाई निराश बनायो ।

कप्तान मार्किन्होस र प्लेमेकर मार्को भेराट्टी नरहेको सेकेण्ड लेगको पहिलो हाफमा नेमारले प्रशस्तै मौका गुमाएपनि पिएसजी यस पटक भने सफल रह्यो । “क्लब हरेक दिन बर्षैपिच्छे राम्रो गर्दै आइरहेको छ,” युनाइटेडबिरुद्ध उनले नै गरेको ह्याण्डबल बाहिरिनुमा जिम्मेवार रहेका प्रेस्नेल किम्बेप्पेले भने ।

नेमार र एमबाप्पेलाई छोड्ने बहाना नै छैन

बायर्नबिरुद्धको सफलता अन्तिम १५ मा बार्सिलोनालाई पराजित गरे लगत्तै आएको हो । पिएसजीले क्याम्प नोउमा भएको पहिलो लेगमा बार्सालाई ४–१ ले पराजित गरेको थियो ।

उक्त खेलपनि पिएसजीको लागि २०१७ को बदला लिएको क्षण थियो । पछिल्लो एक दशकदेखि बार्सिलोनाले पिएसजीलाई तीन पटक नकआउट चरणमा पराजित गर्दै आएको थियो ।

यो सिजन बार्साबिरुद्ध पिएसजीले देखाएको लचकता यसअघि थिएन । म्यानचेस्टर युनाइटेडलाई समुह चरणमा पराजित गरेको पिएसजीले सेमिफाइनलसम्मको यात्रा तया गर्दा बिश्व फुटबलका दुई पारम्परिक पावर हाउसलाई माथ दिइसकेको छ ।

“हामी यी दुई खेल (अन्तिम १६ र अन्तिम ८) मा जितको हकदार थियौं । तर यो भन्दैमा हामी उपाधिको लागि प्रबल दावेदार हौ भनेर अहिले नै भन्न मिल्दैन,” अघिल्लो सिजनको तुलनामा निकै प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेपनि पोचेटिनोले भने ।

गत सिजन फाइनल प्रवेश गर्दा पिएसजीले बोरुसिया डर्टमण्ड, एटलान्टा र आरबी लाइपजिगलाई हराएको थियो र तीन वटै टिमलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थिइएन । लिस्बनमा भएको अन्तिम ८ का खेलहरुमा एटलान्टा र लाइपजिगबिरुद्ध पिएसजीले एक लेगको खेल मात्र खेलेको थियो ।

पिएसजीको यो सिजनको युरोपियन यात्रा भने घरेलु लिगमा उसको दबदबा खतरामा परेको स्थितिमा भइरहेको छ । पछिल्लो ८ बर्षमा ७ लिग वान उपाधि जितेको पिएसजी ६ खेल मात्रै बाकी रहेको स्थितिमा शिर्ष स्थानको लिल भन्दा तीन अंकले पछाडी रहेको छ ।

यद्दपि पिएसजीका लागि च्याम्पियन्स लिगले सबैभन्दा ठूलो महत्व राख्छ । युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि जित्ने हो भने आफ्ना दुई सुपरस्टार किलियन एमबाप्पे र नेमारले सम्झौता नविकरण गर्ने आशा क्लबको रहेको छ ।

२०१७ मा पेरिस आइपुग्दा बिश्व फुटबल इतिहासकै महँगो अनुबन्धन बनेको एमबाप्पे र नेमारको जोडी अर्को सिजनको अन्त्यसम्ममा सम्झौताबिहीन हुनेछन् । बार्सिलोनाले अझै पनि नेमारलाई फर्काउने सपना देखिरहेको छ भने एमबाप्पेलाई रियल म्याड्रिडसँग जोडेर हेरिएको छ ।

“च्याम्पियन्स लिगको उपाधि जित्न सबै कुरा अहिले मिलेको कारण किलियन र नेमारसँग क्लब छोड्ने अब अन्य कुनै बहाना हुने छैन । अन्य सबै टोलीलाई सम्मान गर्ने हामी अहिले एउटा टिमको रुपमा स्थापित भएको छौं,” पिएसजीका अध्यक्ष नासेर अल खेलाफीले भने ।

Click to comment

Trending