Headline

नेपालीहरु फुटबललाई लिएर पागल होलान् तर म अलि बढी पागल छु – प्रशिक्षक अब्दुल्लाह

Published

on

नेपाली राष्ट्रिय फुटबल टोली करिब ६ महिना प्रो–लाइसेन्स प्रशिक्षक बिहिन रह्यो । नोभेम्बर १ मा तत्कालिन प्रशिक्षक योहान कालिनले कोरोना भाईरसका कारण आफु नेपाल आउन असमर्थ भएको जनाएसँगै उनको राजीनामा स्विकृत भयो ।

त्यस पछि अखिल नेपाल फुटबल संघले कार्यकारी प्रशिक्षकको रुपमा बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीमा मौका दियो । त्यो अन्तरालमा बालगोपालले बङ्गलादेशसँग मात्रै ४ खेल खेले भने किर्गिस्तानको अण्डर–२३ टोलीसँग एक खेल खेले ।

पाँच खेल खेल्दा बालगोपालले तीन बराबरी, एक पराजय र एक जित मात्र निकाले । त्यही एक जितमा बालगोपल थ्री नेसन्स कपको च्याम्पियन पनि भए । त्यसपछि भने एन्फालाई कतार फुटबल फेडेरेशन मार्फत प्राप्त प्रो–लाइसेन्स प्रशिक्षक अब्दुल्लाह अलमुतइरीले नेपाली टोली सम्हाल्दै छन् ।

अब्दुल्लाह आफ्नो नेपाल आउनुको कारणमा निकै स्पष्ट देखिए । उनलाई नेपालले लोभ्यायो । उनलाई कतार फुटबल संघले दुई देश मध्ये एक रोज्न दिँदा नेपाल नै रोजे । “मलाई दुई वटा देशबाट अफर आयो । पैसा कमाउनका लागि त अर्को देशको अफर ठिक थियो तर मैले नेपाललाई रोजे,” विस्पोर्ट्जलाई दिइएको बिशेष भिडियो अन्तर्वार्तामा अब्दुल्लाहले भनेका छन् ।

आफ्नो खेलाडी करिअरमा अब्दुल्लाह गोलरक्षक थिए । उमेर समुहको खेल खेल्दै गर्दा उनको घुँडामा चोट लाग्न पुग्यो र उपचार राम्रो हुन सकेन तर उनले फुटबलको कोर्सहरु गर्दै अहिले प्रो–लाइसेन्स र एएफसी इन्स्ट्रक्टरको रुपमा पनि काम गर्दै छन् ।

प्रशिक्षकको रुपमा उनले कतारको अल शाहनी फुटबल क्लब अण्डर–२३ र किर्गिस्तान अण्डर–१७ टिमको प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन् । अब्दुल्लाहसँग साउदी अरेबिया र कुवेतको क्लबहरुसँग काम गरेको अनुभव पनि छ ।

नेपाल आँफैमा फुटबलको लागि पागल देश हो । शिर्ष डिभिजनको खेलमा दर्शक नै नआए पनि देशले रङ्गशाला तताउदा होस वा टोल कप दर्शकको जमात ठुलै हुने गर्छ । यस्तो देशमा प्रशिक्षक हुँँदा अब्दुल्ला भन्छन्ः “सबै देशमा एउटा न एउटा खेलको लागि पागल हुन्छन् नै । नेपालमा त्यो पागलपन फुटबलको लागि छ । नेपालीहरु फुटबललाई लिएर पागल होलान् तर म जत्तिको भने छैनन्,” उनले मुसुक्क मुस्काउदै भने ।

निकै शालीन शैलीका अब्दुल्लाहको फुटबल मैदानमा परिक्षा त बाँकी छदै छ तर उनी मैदान बहिर भने ’फ्यान फेभरेट’ भइसकेका छन् । एन्फाले उनलाई अप्रिल ४ मा सार्वजनिक गर्दा उनले दिएको उत्तरबाट धेरै समर्थकहरु प्रभावित भएका थिए ।

अब्दुल्लाह पनि नेपाललाई राम्रो फुटबल खेल्न प्रेरित गर्ने बताँउछन् । “म आउने बित्तिकै सबै कुरा बदल्न सक्दिन तर त्यसपछिका दिनहरुमा हामी राम्रो प्रदर्शन गर्दै नेपाली जनताको मुहारमा हाँसो ल्याउने कम गर्नेछौँ । यसको लागि खेलाडीहरु देशको लागि २ सय प्रतिशत दिएर खेल्नु भने पर्छ,” उनी भन्छन् ।

अब्दुल्लाहले आफ्नो पहिलो बन्द प्रशिक्षणका लागि ३२ खेलाडी पनि बोलाएका छन् । जसमा कतारमा फुटबल खेल्दै आईरहेका १९ वर्षिय सयान्शु भुशाल र दक्षिण कोरियामा खेल्दै आईरहेका मनिष डाङ्गीलाई समेत बोलाएका छन् ।

उनको पहिलो परिक्षा जुन ६ मा हुनेछ । विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गत बाँकी रहेका तीन खेलमा नेपालले अब्दुल्लाहको प्रशिक्षणमा कस्तो खेल्ला ? यो सबैलाई उत्साहित पार्ने प्रश्न समेत हो ।

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुतइरीसँग विस्पोर्ट्जका लागि गौरव फुयालले लिएको अन्तर्वाता:

Click to comment

Trending