अन्तर्राष्ट्रिय

हैदराबाद माथि कोलकाताको रोमान्चक जित

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को तेश्रो दिनको खेलमा कोलकाता नाइट राईडर्सले सनराइजर्स हैदराबाद माथि १० रनको रोमान्चक जित हात पारेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा छ विकेट गुमाएर १८७ रन बनायो भने १८८ रनको विजयी लक्ष्य सहित ब्याटिङमा आएको हैदराबादले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १७७ रन मात्र बनाउन सक्यो ।

कोलकाताको तर्फबाट नितिश राना र राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । ५६ बलको सामना गरेका रानाले नौं चौका र चार छक्का प्रहार गरे भने त्रिपाठीले मात्र २९ बल खेल्दै पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस बाहेक कोलकाताको लागि विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिकले नौं बलमा २२ रन तथा शुबमन गिलले १५ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हैदराबादका रशिद खान र मोहम्मद नाबीले ४-४ ओभर बलिङ गर्दै समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

विशाल लक्ष्य सहित ब्याटिङमा आएको हैदराबादले ओपनरद्वय रिद्धिमन साह र कप्तान डेभिड वार्नर क्रमश सात र तीन रनमा आउट हुँदा खराब सुरुवात गरे पनि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनिष पाण्डे र जोनी बैरस्टो ९२ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे ।

४० बल खेल्दै पाँच चौका र तीन छक्काको मद्धतमा ५५ रन बनाएका बैरस्टो प्याट कमिन्सको शिकार बन्न पुगे । पाण्डेले अर्को एक छोडबाट ४४ बलको सामना गर्दै अविजित ६१ रन बनाए पनि अर्को छोडबाट लगातार विकेट गुमाउँदा हैदराबादले हारको सामना गर्न पुग्यो ।

कोलकाताका प्रशिद कृष्णाले महँगो साबित भए पनि सर्वाधिक दुई विकेट आफ्नो नाममा लेखाउन सफल भए ।

Click to comment

Trending