Headline

एपिएफलाई मेयर कपको उपाधि

Published

on

सुदुर पश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको सुदुर पश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनायो । जवाफमा एपिएफकै पुरानै ओपनिङ्ग जोडी कप्तान सीता राना मगर र ज्योती पाण्डेले ६९ रनको आकर्षक साझेदारी गरेपछि एपिएफले १६ दशमलव दुई ओभरमै मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो ।

ज्योतिले ३८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाइन् भने सीताले ३२ बलमा चार चौका प्रहार गर्दै २७ रन बनाइन् । दुवै ओपनर रनआउटको शिकार भएका थिए ।

इन्दु बर्मा र ममता चौधरीले त्यसपछि २८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए । इन्दुले २१ बलमा दुई चौकाको सहयोगमा १९ रन बनाइन् । ममताले ९ बलमा १५ रन बनाउदा दुई चौका प्रहार गरिन् ।

यसअघि घरेलु महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा सुदुर पश्चिमले एपिएफबिरुद्ध सर्वाधिक योगफल बनाएको थियो । डली भट्टलाई ओपनिङ्ग पठाउने बहादुरीपूर्ण निर्णय लिएको सुदुर पश्चिमले दोश्रो विकेटका लागि ३० रन जोडेको थियो । डली र बिन्दु रावलले सुदुर पश्चिमका लागि दिनको सबैभन्दा ठूलो साझेदारी गरेका थिए ।

डलीले १२ बलमा १४ रन बनाउदै एक छक्का र एक चौका प्रहार गरिन् । त्यसपछि सुदुर पश्चिमको इनिङ्गस बिन्दुकै वरिपरि घुमेको थियो । बिन्दुले ५४ बलमा चार चौका प्रहार गर्दै नटआउट ४४ रन बनाइन् ।

कविता कुवरले १५ बलमा दुई चौकाको मद्दतमा १३ रन जोडिन् । एपिएफका लागि रेखा रावल, कुरणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढामगरले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending