Headline

मेस्सी खुशी भएपनि बार्सालाई एल क्लासिको उनको अन्तिम हुने डर

Published

on

परस्पर प्रतिद्वन्दी रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनिस ला लिगामा शिर्ष स्थानको दाबीका साथ बार्सिलोना रोनाल्ड कोमनको प्रशिक्षणमा गरेको प्रगतिलाई लाल मोहर लगाउने दाउमा रहेको छ तर लियोनल मेस्सीको लागि उनको बार्सिलोना करिअरको ४५ औं एल क्लासिको भने अन्तिम बन्न सक्छ ।

स्यान्टियागो बेर्नाबेउको मर्मत भइरहेका कारण अल्फ्रेडो डे स्टेफानोमा हुने एल क्लासिकोको बिजेताका लागि सबैभन्दा ठूलो पुरस्कार भनेको २०२० डिसेम्बर पछि पहिलो पटक एट्लेटिको म्याड्रिडलाई शिर्ष स्थानबाट तल झार्नु हो ।

२०२१ फेब्रुवरीबाट एक खेल हातमै रहेको अवस्थामा १० अंकको अग्रता बनाएपछि एट्लेटिको शिर्ष स्थानमै रहदै आएको छ । पछिल्लो केही समय भने एट्लेटिकोले संघर्ष गर्नुका साथै रियल र बार्सा लयमा फर्कदा तीन टिमबीच मात्र तीन अंकको अन्तर रहेको छ ।

बार्सा मात्र एक अंकले पछाडी छ । डिएगो सिमिओनेको लागि अब आफ्नो टोलीले पुनरागमन गर्दै अंक तालिकाको शिर्ष स्थानमा पकड बलियो बनाउन सक्छ वा सक्दैन भन्ने नै प्रमुख बिषय रहने छ ।

शनिबारको एल क्लासिको को परिणामले नै एट्लेटिकोले अब बाकी रहेका ९ ला लिगा खेलमा कसलाई रोक्नु पर्ने वा पछ्याउनु पर्ने निर्धारण गर्नेछ । रियल र बार्साका लागि आफूले पछिल्लो समयमा देखाएको सुधारलाई साबित गर्न एल क्लासिको नै उचित प्लेफर्मको रुपमा रहने छ ।

मेस्सी क्लबमै रहने अथवा नरहने अनिश्चितता कायम रहिरहेको स्थितिमै भएको पुनरागमनका दौरान बार्सिलोनाले शनिबार सफलता हात पार्ने हो भने उसको लागि केही महिना यताको सफल यात्राको अर्को सुखद चेक–पोइन्ट साबित हुनेछ ।

मेस्सीको हरेक गोल र खेल्ने शैलीलाई उनले अहिलेको स्थितिमा कसरी सोचिरहेका होलान् भन्ने बिषयसँग बिश्लेषण गरिदै आएको छ तर एउटा कुरा के स्पष्ट छ भने गत अगष्टमा आफूलाई फ्रि–एजेन्टको रुपमा क्लब छोड्न दिन आग्रह गरे यता बार्सिलोनामा वातावरण परिवर्तन भइसकेको छ ।

निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउको कार्यकालमा उत्पन्न आर्थिक संकट अहिले पनि समस्य रहे पनि योआन लापार्टोको आगमनसँगै क्लबलाई एक किसिमको दिशा निर्देश मिलेको भन्दै उत्साहित हुनेहरु पनि छन् ।

नयाँ सिजनका लागि मेस्सीले अब कुनै सम्झौता स्विकार नगर्ने अपेक्षा रहेपनि लापोर्टा भने अनेक प्रयास गरिरहेका छन् । “लियो मेस्सी नाम गरेको केटोले बार्साको युथ टिमबाट डेब्यु गरेको आज २० औं बर्षगाँठ हो,” लापोर्टाले गत महिना आफू आए लगत्तै मेस्सी कै नाममा सम्बोधन गर्दै भनेका थिए ।

“आफ्नो छोरालाई लिदै बिश्व फुटबलकै उत्कृष्ट खेलाडी मेरो लागि भोट गर्न आउनुले लियोले बार्सालाई कति मायाँ गर्छन् भन्ने कुरा स्पष्ट पारेको छ । हामी एक ठुलो परिवार हौं,” मेस्सीसँग आफ्नो यसअघिको कार्यकालमा निकै घनिष्ठ सम्बन्ध बनाएका लापोर्टाले भनेका थिए ।

युवा प्रतिभालाई हुर्काउदै मेस्सी

एक बर्षअघि मात्रै ध्वस्त बनेको टोलीलाई कोमनको आगमनसँगै टुक्रा–टुक्रा जोड्दै फेरि एक ढिक्का बनेको देखेको कारणले नै मेस्सीलाई बार्सिलोनामै बस्न कर लाग्न सक्छ । कोमनले क्लबका युवा खेलाडीहरुमाथि बिश्वास राखेका छन् र मेस्सीले उनीहरुलाई हुर्काएका छन् ।

पेद्री, रोनाल्ड अराउजो, सर्जिनो डेस्ट, ओस्कार मिन्गुएजा र इलाइक्स मोरिबा लगायतका खेलाडीहरुको यो सिजन उदय भएको छ । मिन्गुएजा, मोरिबा, ट्रिनकाओ र डेस्टले बार्साका लागि पहिलो ला लिगा गोल गर्दा मेस्सीले नै असिस्ट गरेका थिए ।

मेस्सी आफै पनि २३ गोलका साथ लिगको शिर्ष गोलकर्ता बन्दै लयमा फर्किएका छन् । २०२१ शुरु भएयता मात्रै उनले २० खेलमा १९ गोल गरेका हुन् । मेस्सी नै केन्द्रमा रहने गरेको च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्माइनसँग फराकिलो हार व्यहोर्दै बार्सिलोना प्रि–क्वार्टरफाइनलबाट बाहिरिएका कारण यो उपलब्धिले ठूलो स्थान नलिन पनि सक्छ ।

कोपा डेल रेको फाइनलमा एथ्लेटिक बिल्बाओलाई हराउनुका साथै रियल र एट्लेटिकोलाई पछि पार्दै ला लिगा उपाधि जितेपनि बार्सिलोनाले मेस्सीलाई बाई बाई भन्ने स्थिति आउन सक्छ ।

तर एल क्लासिकोको आफ्नो १६ बर्षको इतिहासमा दुई ह्याट्रिक सहित २६ गोल गरेका मेस्सीको यो अन्तिम एल क्लासिको हुने हो भने अर्जेन्टाइन सुपरस्टारले यसलाई अतिरिक्त सिजन राम्ररी गएको रुपमा नै लिने छन् ।

बार्सालाई लिएर उनको तिक्तता समाप्त हुने त छ नै, आफ्नै पुनरुद्धार पनि सुरक्षित हुनेछ ।

Click to comment

Trending