Headline

प्रदेश १ को जितमा रोमा थापाको उत्कृष्ट ब्याटिङ्ग

Published

on

प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेटको अन्तिम खेलमा जित हात पारेको छ । रोमा थापाले शानदार नटआउट अर्धशतक प्रहार गरेपछि प्रदेश १ ले ललिपुर मेयर ११ लाई १४ रनले पराजित गर्यो ।

त्रिवि मैदानमा रोमाले ५७ बलमा ६६ रन बनाएपछि पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ले २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १ सय २८ रन बनायो । जवाफमा कप्तान रुबिना क्षेत्रीले तीन विकेट लिएपछि ललिपुर मेयर ११ ले ७ विकेटको क्षतिमा १ सय १४ रन मात्र बनाउन सक्यो ।

६१ रनमै चार विकेट गुमाएको ललितपुरलाई सुमन खतिवडा र अस्मिना कर्माचार्य ४२ रन बनाउदै ललितपुरलाई खेलमा फर्काउने प्रयास गरेपनि ललितपुर जितबाट बञ्चित हुन पुग्यो । सबनम राइले सुमनलाई बोल्ड गर्नुका साथै रुबिनाले दुई विकेट लिएपछि ललितपुर रोकिएको थियो ।

यो प्रतियोगिाकै सर्वाधिक ७७ रन बनाउदै अस्मिनासँग लुम्बिनीबिरुद्ध १ सय ८ रनको साझेदारी गरेकी सुमनले बिहिवार पनि टिमको लागि उच्च योगफल बनाइन् । उनले २५ बलमा तीन चौकाको मद्दतमा २५ रन बनाइन् । अस्मिना २२ बलमा १८ रन बनाउदै नटआउट रहिन् ।

ओपनर अनुराधा चौधरीले पनि ३२ बलमा चार चौका प्रहार गर्दै १८ रन बनाएकी थिइन् ।

यसअघि ओपनर काजल श्रेष्ठ (८) सस्तैमा आउट भएपछि रुबिनाले दोश्रो विकेटका लागि ३३ रनको पार्ट्नरसिप गर्दा २१ रन बनाइन् । रुबिनाले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् । दुवै ओपनरलाई सन्तोषी चौधरीले आउट गरेकी थिइन् ।

रुबिना आउट भएपनि रोमाले प्रदेश १ लाई सम्हाल्दै तेश्रो विकेटका लागि अप्सरी बेगमसँग ७५ रनको साझेदारी गरेकी थिइन् । रोमाले १० चौका हिर्काइन् भने अप्सरीले २९ बलमा दुई चौको प्रहार गर्दै २६ रन जोडिन् ।

प्रतियोगिताको फाइनलमा यसअघि नै सुदुर पश्चिम र नेपाल एपिएफ क्लब पुगिसकेका छन् ।

Click to comment

Trending