Headline

लुकाकुको उच्च प्रदर्शनमा इन्टर ११ बर्षमा पहिलो सिरी आ उपाधि नजिक

Published

on

रोमेलु लुकाकुले एक गोल गर्नुका साथै अर्को गोलमा असिस्ट गरेपछि इन्टर मिलान एक दशकभन्दा बढी समयमा पहिलो पटक इटालियन सिरी आ जित्न नजिक पुगेको छ ।

इन्टरले बुधबार भएको खेलमा सासुलालाई २–१ ले पराजित गर्यो जसमा लुकाकुको प्रदर्शन उच्च रह्यो । जितपछि इन्टरले २९ खेलपछि अंक तालिकामा ११ अंकको स्पष्ट अग्रता लिएको छ । इन्टरको ७१ अंक छ भने दोश्रो स्थानमा उसको शहरी प्रतिद्वन्दी एसि मिलानको ६० अंक छ ।

क्रिष्चियानो रोनाल्डोको युभेन्टसको ५९ अंक रहेको छ भने एटलान्टा (५८) र नापोली (५६) क्रमशः चौथो र पाचौं स्थानमा रहेका छन् । युभेन्टसले नापोलीलाई २–१ ले पराजित गर्दा झण्डै तीन महिनापछि मैदान फर्किएका पाउलो डिबाला र रोनाल्डोले गोल गरेका थिए ।

१० औं मिनेटमा एस्ली योङ्गको क्रसमा हेडरमार्फत गोल गर्दै लुकाकुले यो सिजन आफ्नो २१ औं लिग गोल गरेका थिए । दोश्रो हाफको मध्यतिर लौटोरो मार्टिनेजको गोलमा असिस्ट गर्दै उनले इन्टरको जितमा उल्लेखनीय भुमिका खेलेका थिए ।

हामेद जुनियर ट्राओरेले खेल सकिन बाकी हुदा सासुलोका लागि एक गोल फर्काएका थिए तर इन्टरलाई लिगमा लगातार १० औं लिग जितबाट रोक्न काफी थिएन । इन्टरले २०१० यता इटालिको प्रथम श्रेणीको फुटबलको उपाधि जितेको छैन ।

लगातार १० औं उपाधि जित्ने युभेन्टसको अभियानमा भने उसको यसअघिको दुई खेलको प्रदर्शनले नराम्ररी प्रभावित गरेको थियो । बेलेभेन्टो र टोरिनोबिरुद्धको खेलबाट युभेन्टसले मात्र एक अंक बटुलेको थियो । यद्दपि बुधबारको जितपछि च्याम्पियन्स लिगको छनोटको दौडमा युभेन्टस कायम रहेको छ ।

Click to comment

Trending