Headline

फखर, बाबरको उत्कृष्ट ब्याटिङ्गपछि पाकिस्तानलाई श्रृंखला

Published

on

दक्षिण अफ्रिकालाई तेश्रो तथा अन्तिम एकदिवसीयमा २८ रनले पराजित गर्दै पाकिस्तानले तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

सेन्चुरियनमा भएको खेलमा फखर जमानले लगातार दोश्रो शतक प्रहार गर्नुका साथै बाबर आजमले उत्कृष्ट फिनिसिङ्ग दिदै ९४ रन ठोकेपछि पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३ सय २० रनको बिशाल योगफल खडा गर्यो ।

अप्रिल ९ देखि शुरु हुने इण्डियन प्रिमियर लिगका लागि आफ्नो चार खेलाडी गुमाएपनि गतिलो प्रदर्शन गरेको दक्षिण अफ्रिकाले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै २ सय ९२ रन बनायो ।

ओपनर जानेमन मलनले ७० रन जोडेपछि दक्षिण अफ्रिकाले आफ्नो पहिलो पाँच विकेट १ सय ४० रनमै गुमाएको थियो । कायल भेरेने र एन्डाइल फेलुक्वायोले त्यसपछि शतकीय साझेदारी गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर दुवै ब्याट्स्म्यान तीन रनको अन्तरमा आउट भएपछि उसको चुनौति समाप्त भएको थियो ।

करिअरकै उच्च ६२ रन बनाउने क्रममा भेरेनेले ५३ बलको सामना गर्दै तीन छक्का र उती नै चौका प्रहार गरे । फेलुक्वायोले ६१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ५४ रन बनाए ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र मोहम्मद नवाजले समान तीन–तीन विकेट लिए भने हरिस रउफले दुई विकेट हात पारे । मलनले पहिलो विकेटका लागि आइडेन मारक्रमसँग ५४ रनको साझेदारी गरेका थिए । उनले ८१ बलमा ९ चौका प्रहार गरे ।

यसअघि पहिलो दुई विकेटले उच्च प्रदर्शन गर्नुका साथै आजम र आठौं नम्बरमा हसन अलीले आक्रमक ब्याटिङ्ग गरेपछि पाकिस्तानले चुनौतिपूर्ण योगफल खडा गरेको थियो ।
दोश्रो एकदिवसीयमा १ सय ९३ रनमा दुर्भाग्यपूर्ण रुपमा रनआउट हुन पुगेका फखरले एकपटक फेरि पाकिस्तानलाई सम्हालेका थिए । उनले पहिलो विकेटका लागि इमाम उल हकसँग १ सय १२ रन जोडे । ९९ बलमै शतक प्रहार गरेका फखरले बाबरसँग दोश्रो विकेटका लागि अर्को ९६ रनको साझेदारी गरेका थिए ।

मध्यक्रमलाई ध्वस्त पार्दै दक्षिण अफ्रिकालाई पाकिस्तानको रनगतिमा केही अंकुश लगाएपनि बाबर र हसन अलीले उत्कृष्ट ब्याटिङ्ग गरेका थिए । बाबरले जेजे स्मट्सलाई ४९ औं ओभरमा तीन र हसनले एक छक्का प्रहार गरेका थिए ।

पाकिस्तानी कप्तानले ८२ बलमा सात चौका र तीन छक्काको मद्दतमा ९४ रन बनाए भने फखरले १ सय ४ बलमा ९ चौका र तीन छक्काको मद्दतमा १ सय १ रन बनाए । इमामले ७३ बलमा ५७ रन बनाए । ११ बलमै ३४ रन ठोकेका हसनले चार छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि केशव महारजले तीन र मारक्रमले दुई विकेट लिए ।

Click to comment

Trending