Headline

एएफसी कप छनोट: आर्मीको श्रीलंका पुलिस विरुद्ध उत्कृष्ट पुनरागमन जित

Published

on

एएफसी कपको पहिलो चरणको छनोट अन्तर्गत खेल्दै गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ कल्बलाई ५-१ ले हराएको छ ।

खेलमा पहिलो गोल श्रीलंका पुलिसले गरेको थियो । २८ औँ मिनेटमा एभान्स असान्तेले गोल गरे पछि श्रीलंका पुलिस १-० ले अगाडी रह्यो  तर आर्मी पहिलो हाफमै उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ४१ औँ मिनेटमा सन्तोष तमाङले निकै सुन्दर गोल गरेका थिए ।

लामो दुरीबाट उनले हाफ भलीमा निकै उत्कृष्ट गोल गरेका थिए । फेरी त्यसको दुई मिनेट पनि नबित्दै भरत खवासको क्रसमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा नै २-१ को उत्कृष्ट पुनरागरम गराएका थिए ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । ४९ औँ मिनेटमा नवयुग श्रेष्ठको क्रसमा टंक बहादुर बस्नेतले गोल गरेका थिए । बिकास खवासको थ्रु पासमा नवयुगले दिएको क्रसलाई टंकले ट्याप इन गर्दै गोल गरेका थिए । खेलको ८४ औँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४-१ को जित दिलाएका थिए । सुदिलले भरतले मिलाएको बललाई पेनाल्टी एरियामा लाग्दै प्रहार गरेको सट गोल भएका थियो ।

९० मिनेट पछि थपिएको इन्जुरी समयमा आर्मीले पाँचौँ गोल गरेको थियो । आर्मीका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट गरेको प्रहारलाई श्रीलंका पुलिसका गोलरक्षकले राम्रोसँग ठम्याउन नसक्दा गोल भएको थियो ।

त्यस अघी खेलको पहिलो मिनेटमै आर्मीले अट्याकिङ फुटबल खेलेको थियो । नवयुग श्रेष्ठले गरेको लामो दुरीको प्रहारले दिशा भने लिन सकेन । लगतार आक्रमण गरेको आर्मीका लागि १० औँ मिनेटमा सन्तोष तमाङको प्रहारलाई श्रीलंका पुलिसका गोलरक्षक धनुषा परेराले उत्कृष्ट बचाउ गरेका थिए ।

आर्मीले २५ औँ मिनेटमा फेरी अर्को मुभ बनायो तर त्यसमा पनि आर्मीका फर्वार्ड नवयुग श्रेष्ठ चुक्न पुगे । उनले गरेको हेडिङले पोस्टको दिशा लिन सकेन । पहिलो हाफको २५ औँ मिनेट सम्म ८० प्रतिशत भन्दा बढी पोजेसन राखेको आर्मीले २८ औँ मिनेटमा भने गोल खान पुग्यो ।

३३ औँ मिनेटमा फेरी आर्मीले अर्को मुभ बनायो । नवयुगले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासमा भरत खवास चुक्न पुगे । ३८ औँ मिनेटमा फेरी भरत चुक्न पुगे । टंक बहादुर बस्नेतको क्रसमा भरतले निकै सुन्दर मौका गुमाउन पुगे ।

दोस्रो हाफमा आर्मी अझै सम्हालिएको खेल देखायो । ५५ औँ मिनेटमा टंकको क्रसले नवयुगलाई भेटाउन सकेन । मिड्फिल्डमा निकै चुस्त देखिएको आर्मीले दोस्रो हाफमा पोजेसनमा पनि बलियो पकड बनायो ।

६८ औँ मिनेटमा सुदिल राईको क्रसमा नवयुगको पहिलो टच राम्रो हुन नसक्दा आर्मी गोल गर्न चुकेको थियो । ७० औँ मिनेटमा दिपक गुरुङको प्रहार बहिरिन पुगेको थियो । ७५ औँ मिनेटमा श्रीलंका पुलिसका लागि एभान्सले गरेको प्रहार क्रसबारमा लाग्न पुगेको थियो । श्रीलंका पुलिसले दोस्रो हाफमा त्यो बाहेक अन्य लोभ लाग्दा आक्रमणहरु गर्न सकेन र नतिजा आर्मीलाई सुम्पिन पुग्यो ।

जितसँगै आर्मीले अब छनोट चरण अन्तर्गतको आफ्नो अर्को खेल भारतीय क्लब बेङ्लुरु एफसी सँग १४ अप्रिलमा गोवाको जिएमसी रङ्गशालामा खेल्ने छ ।

Click to comment

Trending