लेख

सुदुर पश्चिम मेयर कपको फाइनलमा, प्रदेश १ बाहिरियो

Published

on

सुदुर पश्चिम प्रदेश ललितपुर मेयर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम फाइनल प्रवेश गरेको हो ।

सुदुर पश्चिमको जितसँग प्रधानमन्त्री कप बिजेता प्रदेश १ भने आफ्नो अन्तिम लिग खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश १ मङ्गलवार महत्वपूर्ण खेलमा सुदुर पश्चिमसँग ४० रनले स्तब्ध बनेपछि फाइनलको यात्रा यसअघि नै कठिन बनिसकेको थियो ।

शनिबार हुने फाइनलमा सुदुर पश्चिमले नेपाल एपिएफ क्लबसँग खेल्नेछ । सुदुर पश्चिम दोश्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

मङ्गलवारको खेलमा प्रदेश १ बिरुद्ध ह्याट्रिक लिएकी लक्ष्मी साउदले ४ विकेट लिएपछि लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउदै मात्र ७२ रन बनाउन सक्यो । सुदुर पश्चिमले १२ दशमलव ३ ओभरमै मात्र दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

रेवती धामी र मञ्जु बोकटीले ३८ रन बनाउदै सुदुर पश्चिमको लागि सहज जितको आधार खडा गरेकी थिइन् । रेवतीले २२ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । मञ्जुले ३० बलमा २६ रन बनाइन् । यस्तै बिन्दु रावलले २० बलमा १७ रन जोडिन् । लम्बिनीका लागि दुवै विकेट कृतिका मरासिनीले लिएकी थिइन् ।

एकै ओभरमा तीन विकेट लिदै लुम्बिनीको मिडल अर्डर ध्वस्त पारेकी लक्ष्मीले चार ओभरमा १७ रन खर्चदै चार विकेट हात पारिन् ।

यस्तै कप्तान रितु कनौजियाले १४ रन खर्चदै तीन विकेट लिइन् । लुम्बिीका लागि लक्ष्मी चौधरीले २९ बलमा सर्वाधिक २६ रन बनाउदै तीन चौका प्रहार गरिन् । कप्तान नेरी थापाले ११ बलमा ११ रन बनाइन् ।

यसअघि पहिलो दुई खेलमा नटआउट रहदै ४६ र ५० रन बनाउदै राम्रो प्रदर्शन गरेकी सरस्वती जिएम ९ रनमै कविता जोशीको बलमा आउट भएपछि लुम्बिनी संघर्ष गर्न थालेको थियो ।

Click to comment

Trending