Headline

मेयर कपबाट बाहिरिने संघारमा प्रदेश १, लक्ष्मी साउदले लिइन् ह्याट्रिक

Published

on

प्रधानमन्त्री कप बिजेता प्रदेश १ बिरुद्ध ४० रनको सनसनीपूर्ण जित निकाल्दै सुदुर पश्चिम मेयर कप महिला क्रिकेटको फाइनल नजिक पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा ब्याटिङ्ग र बलिङ्ग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेको सुदुर पश्चिम दोश्रो पटक प्रमुख क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । तीन महिना अगाडी दाङ्गमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप जितेको प्रदेश १ भने मेयर कपबाट बाहिरिने संघारमा पुगेको छ ।

दुई खेलमा पराजय व्यहोरेको प्रदेश १ फाइनलको दौडमा कायम रहन बुधवार सुदुर पश्चिमलाई लुम्बिनी प्रदेशले पराजित गर्नु पर्ने त छ नै, उसले आफ्नो अन्तिम खेलमा ललितपुर मेयर ११ लाई फराकिलो अन्तरले हराउनु पर्नेछ ।

बिन्दु रावलले अर्धशतक बनाउदै इनिङ्गस सम्हालेपछि सुदुर पश्चिमले २० ओभरमा चार विकेट गुमाउदै १ सय २९ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो । लक्ष्मी साउदले ह्याट्रिक पुरा गदैचार विकेट, कविता जोशी र कविता कुँवरले दुई–दुई विकेट लिएपछि प्रदेश १ १८ दशमलव ५ ओभरमा ८९ रनमै समेटियो ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले २७ र अप्सरी बेगमले २२ रन बनाइन् भने अन्य ब्याट्स्उमनहरुले खासै योगदान दिन सकेनन् । लक्ष्मीले तीन दशमलव चार ओभरमा १९ रन खर्चदै चार विकेट लिइन् । १५ औं ओभरमा प्रदेश १ का रोमा थापाको मुख्य विकेट लिएकी उनले १९ औं ओभरमा तीन विकेट लिदैं जित दिलाएकी थिइन् ।

कविता कुँवरले रुबिना र कविता जोशीले लगातार दुई बलमा अप्सरी र लतिका राजबंशीको विकेट लिएपछि खेल सुदुर पश्चिमको पोल्टामा गएको थियो ।

यसअघि सबनम राइले ओपनर मन्जु बोकटीलाई इनिङ्गसको पहिलो बलमै पेभिलियन फर्काएपनि बिन्दुले दुई महत्वपूर्ण साझेदारी गरेकी थिइन् । उनले रेवती धामीसँग दोश्रो विकेटका लागि ७४ र तेश्रो विकेटका लागि कविता जोशीसँग ३९ रनको साझेदारी गरेकी थिइन् ।

बिन्दुले ५८ बलमा चार चौका प्रहार गर्दै ५२ रन बनाइन् भने ३२ बलको सामना गरेकी रेवतीले तीन चौकाको मद्दतमा ३० रन जोडिन् । कविताले २४ बलमा २१ रनको योगदान दिइन् । उनको इनिङ्गसमा दुई चौका सामेल थियो । सबनमले प्रदेश १ का लागि दुई विकेट लिइन् ।

Click to comment

Trending