Headline

सोसिडाडलाई ३४ बर्षपछि कोपा डेल रेको उपाधि

Published

on

रियल सोसिडाडले ३४ बर्षको पर्खाइलाई समाप्त गर्दै कोपा डेल रे को उपाधि जितेको छ ।

सेभिलमा भएको फाइनलमा सोसिडाडले एथ्लेटिक बिल्बाओमाथि १–० सांघुरो जित दर्ता गर्दै २०१९–२० सिजनको उपाधि जितेको हो । कोरोना महामारीका कारण यो खेल स्थगित भएको थियो ।

यो सिजनको फाइनलमा बिल्बाओले अप्रिल १७ मा बार्सिलोनाको सामना गर्दैछ । बिल्बाओ आफै पनि कोपा डेल रे उपाधिको ३७ बर्ष लामो पर्खाइमा छ ।

निकै कम मौकाहरु निक्लिएको खेलको ६३ औं मिनेटमा पाँच मिनेटसम्म भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोग हुँदा प्राप्त पेनाल्टीमा मिकेल ओयारजबालले सोसिडाडको लागि निर्णायक गोल गरेका थिए ।

इनिगो मार्टिनेजलाई पेनाल्टी एरियामा पोर्टुमाथि फउल गरेपछि शुरुमा रेड कार्ड देखाइएको थियो तर त्यसलाई पहेलो कार्डमा झार्दै सोसिडाडलाई पेनाल्टी दिइएको हो ।

मार्टिनेजले पहिलो हाफमा २५ यार्डबाट प्रहार गरेको बल पोस्टमाथि लागेर बाहिरिएको थियो । पुर्व म्यानचेस्टर सिटी मिडफिल्डर डेभिड सिल्भा ८५ मिनेट खेलेका थिए ।

ला लिगामा यी दुई टोली अब बुधबार फेरि भिड्नेछन् । सोसिडाड छैटौं स्थानमा रहेको छ भने बिल्बाओ नवौं स्थानमा छ ।

Click to comment

Trending