Headline

महिला क्रिकेटः खेलले खुशी, दर्शकले निराश

Published

on

तीन महिना अगाडी नेपाली राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले तीन हजार भन्दा बढी दर्शकहरुको हल्लाकाबीच दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश १ लाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जिताइन । दाङमा औषतमै दैनिक ५ सयको संख्यामा दर्शक उपस्थित हुने गर्थे ।

तीन महिनापछि महिला क्रिकेटले अर्को प्रतियोगिता पायो । छोटो समयमा अर्को प्रतियोगिता खेल्न पाउनु महिलाहरुका लागि खुशीको कुरा थियो । यस्तो बिरलै हुने गर्छ ।

दाङकै फाइनलको प्रतिद्वन्दी र उपाधिको प्रबल दाबेदार नेपाल एपिएफबिरुद्ध प्रदेश १ ले ललितपुर मेयर कपकै सबैभन्दा ठूलो लिग म्याचमा त्रिवि मैदानमै खेल्यो । त्यो पनि शनिबार सार्वजनिक बिदाको दिन ।

अचम्म, खेलका दौरान दर्शकभन्दा मैदानमा खेलाडीको संख्या बढी थियो ।

प्रदेश १ ले ब्याटिङ्ग गर्दा पहिलो इनिङ्गसमा एक दर्शक पनि नरहदा देखि दिनको पहिलो खेल सक्किदासम्म मैदानमा १० जना दर्शक पनि थिएनन् । पुरुषको ५० ओभरको क्रिकेटमा दिनको शुरुवातमा दर्शक उपस्थित नभएपनि दोश्रो इनिङ्गसमा भने दर्शक हुने गर्छन्, २ सय जना भएपनि ।

तर नेपालको सबैभन्दा ठूलो घरेलु महिला क्रिकेट प्रतियोगिताकै ठूलो खेललाई दर्शकले तान्न सकेन । नेपाल क्रिकेट संघले टिकट दर ५० र २५ (बिद्यार्थीका लागि) तोकेको छ ।

सुदर पश्चिम प्रदेश र ललितपुर मेयर ११ बीच दिनको दोश्रो खेल समाप्त हुँदा सम्म बाहिरबाट हेर्ने १९, एक जना बदाम बेच्ने दाई र भित्र रहेका ३९ जना गरि ५९ जना दर्शक रहेका थिए । बदाम बेच्ने दाईको व्यापार पनि खासै नभएपछि उनी पनि दोश्रो खेलको बीचबाटै छोडेर हिडे ।

ललितपुरको खेलमा काठमाडौंका केही खेलाडीहरु रहेका कारण दर्शकको संख्या दोश्रो खेलमा बढेको थियो ।


त्रिवि मैदानमा आफूलाई खेल्न जहिल्यै पनि आनन्द आउने बताएपनि दर्शकको अनुपस्थितिले रुबिना निराश थिइन् । “केटाहरुले कस्तो खेल्छन् र कति मिहिनेत गर्छन् त्यो हाम्रो सरोकारको बिषय होइन । तर केटीहरुले गरेको मिहिनेतलाई चाही फ्यानहरुले अझै पनि स्विकार्नु भएन,” रुबिनाले भनिन् ।

“म मात्र नभएर सबै खेलाडीहरुलाई दर्शककोबीचमा खेल्ने इच्छा हुन्छ । हामीले धेरै मिहिनेत गर्दै आएको छौं तर दर्शक हाम्रो खेलमा नआउदा हामी निकै निरुत्साहित छौं । सबैलाई यो प्रतियोगिता हुदैछ भनेर सबैलाई थाहा भएकै हो,” रुबिनाले थपिन् ।

एपिएफ कप्तान सीता राना मगरलाई भने खाली स्टेडियममा खेल्नु पर्दा अचम्म लागेन । हामीले यही अपेक्षा गरेका थियौं, महिला क्रिकेटमा दर्शक नै आइदिनु हुन्न । शायद हामी अझै राम्रो गर्यो भने आउनु हुन्छ की, सीताले भनिन् ।

महिला क्रिकेट नेपालमा दर्शकको उपस्थिति निकै न्युन हुने टिम गेममध्ये पर्छ, बिशेषगरि ती खेलहरु राजधानीमा भएको समयमा । मोफसलमा भने हरेक खेलमा दर्शकको उपस्थिति राम्रै हुने गरेको छ । राजधानीमै भने महिला भलिबल र फुटबलमा तुलनात्मक रुपमा निकै बढी दर्शक हुने गरेका छन् ।

नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर बिनोद दास नेपालमा महिला क्रिकेटको दर्शक नै नरहेको बताउछन् । “एक त हामीसँग महिला क्रिकेटमा दर्शक नै छैनन् । यसअघि टियुमै उमन्स क्रिकेट लिग हुँदा पनि दर्शक थिएनन्,” दासले भने ।

“प्रतियोगिता टेलिभिजनसँगै फेसबुक र युट्युबमा पनि प्रत्यक्ष प्रशारण भइरहेको कारण पनि दर्शकको उपस्थिति कम रहेको हुन सक्छ । अर्को कुरा अहिले महामारीको पनि अवस्था रहेको छ,” दासले यसो भनिरहदा झण्डै चार किलोमिटर पर दशरथ रँगशालामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि कभर्ड हल दर्शकले नै भरिएको थियो ।

Click to comment

Trending