Headline

डलीको आक्रमक इनिङ्गसमा सुदुर पश्चिमको जित

Published

on

सुदुर पश्चिम प्रदेशले मेयर महिला क्रिकेटमा ललिपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोश्रो खेलमा कञ्चन श्रेष्ठले आकर्षक अद्र्धशतक प्रहार गरेपछि ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७ रन बनायो । ओपनर मञ्जु बोकटी र रेवती धामीले गतिलो शुरुवात गरेपनि दवाबमा आएको सुदुर पश्चिमलाई डली भट्टले उत्कृष्ट ब्याटिङ्ग गर्दै जित दिलाइन् । सुदुर पश्चिमले ६ बल बाकी हुँदा जित हात पार्यो ।

अन्तिम १८ बलमा १९ रन चाहिएको अवस्थामा डलीले ललितपुर कप्तान सरस्वती चौधरीले फालेको लगातार दुई चौका प्रहार गरेपछि सुदर पश्चिमले १३ रन बटुल्दै खेललाई आफ्नो पक्षमा पारेको थियो ।

उनले १४ बलमा नटआउट २२ रन प्रहार गरिन् । उनको नाममा दुई चौका र एक छक्का रह्यो । डलीले कविता जोशी (१०) सँग चौथो विकेटको लागि ३७ रनको साझेदारी गरिन् ।

पहिलो विकेटका लागि मञ्जु र रेवतीले ५२ रनको साझेदारी गरेका थिए । तर अर्को २४ रनको अन्तरमा तीन विकेट लिदै ललितपुर खेलमै कायम रहेको थियो । मञ्जुले ४२ बलमा ६ चौका प्रहार गर्दै ४१ रन बनाइन् भने रेवतीले ४० बलमा १८ रन जोडिन् ।

यसअघि ललितपुरको इनिङ्गस पूर्ण रुपमा कञ्चनको नाममा रह्यो । २२ मा तीन र ४५ रनमा चार विकेट गुमाएको ललितपुरलाई उनले नटआउट ६३ रन प्रहार गर्दै सम्हालेकी थिइन् । उनले पाचौं विकेटका लागि अस्मिना कर्माचार्य (१३) सँग ६२ रनको साझेदारी गरेकी थिइन् ।

५६ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् । सुमनले १७ बलमा दुई चौकाको मद्दतमा १६ रन बनाइन् ।

Click to comment

Trending