Headline

सीताको अद्र्धशतकपछि एपिएफको प्रदेश १ माथि सहज जित

Published

on

प्रधानमन्त्री कपको फाइनल व्यहोरेको पराजयको तीन महिना पछि नमिठो बदला लिदै नेपाल एपिएफ क्लबले मेयर कप महिला च्याम्पियनसिपमा प्रदेश १ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

त्रिवि क्रिकेटमा भएको उद्घाटन खेलमा कप्तान रुबिना क्षेत्री र रोमा थापाको आकर्षक अद्र्धशतकीय साभेदारीमा प्रदेश १ ले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ४ रन बनायो । जवाफमा कप्तान सीता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट शुरुवात दिँदा एपिएफले १८ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

अद्र्धशतक पुरा गरेकी सीताले पहिलो विकेटका लागि ज्योतिसँग ७० रनको शान्दार साझेदारी गरिन् । ५० बलको सामना गरेकी सीता सात चौका प्रहार गर्दै ५२ रनमा नटआउट रहिन् । ज्योतिले ४० बलमा पाँच चौका प्रहार गर्दै ३२ रन बनाइन् ।

प्रदेश १ का लागि सँगिता राइ र रुबिना क्षेत्रीले एक–एक विकेट हात पारिन् ।

यसअघि पहिलो ब्याटिङ्ग गरेका प्रदेश १ ले इनिङ्गसको तेश्रो बलमै ओपनर अप्सरी बेगमलाई शुन्यमा गुमाएको थियो । रुबिना र काजल श्रेष्ठ (५) ले त्यसपछि २६ रनको साझेदारी गरिन् । काजलले उल्लेखनीय योगदान दिन नसक्दा रुबिना र रोमाले प्रदेश १ लाई सम्हालेका थिए ।

उनीहरुले तेश्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । रुबिना अद्र्धशतकबाट मात्र पाँच रनले चुकिन् । उनले ४८ बलमा ६ चौका प्रहार गरिन् । रोमाले ४२ बलमा ३३ रन बनाइन् । उनको इनिङ्गसमा पाँच चौका सामेल थियो ।

रेखा रावल, करुणा भण्डारी, सिता र बिनु बुढामगरले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending