Headline

‘म नेमार र एमबाप्पे भन्दा राम्रो ड्रिब्लर हो’

Published

on

रेनेसका विंगर जेरेमी डोकुले आफु लिग वानको सबैभन्दा राम्रो र उत्कृष्ट ड्रिब्लर भएको दाबी गरेका छन् । १८ बर्षिय डोकुले ड्रिब्लिङ गर्ने मामिलामा आफुलाई पेरिस सेन्ट जर्माइनका फरवार्डद्वय किलियन एमबाप्पे र नेमार भन्दा अगाडी राखेका छन् ।

गत अक्टोबरमा लिग वान टोलीमा आबद्ध उनले रेनेसको लागि सबै प्रतियोगिता गरेर कुल ३१ खेल खेलेका छन् । एनएक्सजीएन स्टार्सहरुको सर्वाधिक गोलकर्ताको १४औं स्थानमा रहेका डोकुले ड्रिबल गर्न सधैं उत्सुक रहेको र आफु लिग वानको उत्कृष्ट ड्रिब्लर रहेकोमा खुशी रहेको पनि बताएका छन् ।

“म सानो छँदा सबैले मलाई तैलें धेरै ड्रिबल गर्छस् भन्थे । उनीहरु मलाई धेरै ड्रिबल गर्नलाई पनि रोक्ने गर्थे । तर म रोकिन,” डोकुले भने ।

“म युवा ड्रिब्लरहरुलाई पनि लगातार रुपमा ड्रिबल गर्ने सल्लाह दिन चाहन्छु, चाहे सोचे अनुसारको होस वा नहोस । आफ्नो यो क्षमता र बानी नलुकाउनु । धेरै कुरा तपाई कत्तिको आत्मविश्वासी हुनुहुन्छ भन्नेमा पनि भर पर्दछ । जब म ड्रिबल गर्छु, धेरै जसो समय म आफ्नो प्रतिद्वन्दिलाई पार गर्न सक्छु भन्ने आत्मबिश्वास चाहिन्छ ।”

“मैले पछिल्लो समय लिग वानको तथ्यांक हेरे । म नै लिग वानको सर्बोत्कृष्ट ड्रिब्लर हो । नेमार र एमबाप्पे जस्ता खेलाडी भएको लिगमा यो उपलब्धि पक्कै पनि कम होइन ।”

उनले भने, “यहाँ ठुला–ठुला हस्ती र स्टारहरु खेल्छन् । यहाँका खेलाडीहरु बेल्जियममा भन्दा बलियो र छरितो छन् । तपाईले नेमार र एमबाप्पेलाई बेल्जियन लिगमा देख्न सक्नु हुन्न ।”

तर डोकुले आफैलाई उत्कृष्ट ड्रिब्लर दाबी गरे पनि गोल गर्ने मामिलामा भने निकै पछि रहेका छन् । फ्रेन्च लिगमा उनले मात्र एक गोल गर्न सकेका छन् ।

तर पनि उनी फुटबल भनेको गोल मात्र नरहेको पनि बताउँछन् । उनी यदि आफुले राम्रो खेल्न नसकेको भए शुरुवाती ११ मै नपर्ने पनि दाबी गर्दछन् । त्यस्तै उनले गोल गर्ने मामिलामा आफु ज्लाटन इब्राहिमोबिच नभएको पनि बताए ।

Click to comment

Trending