Headline

नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ एकेडेमी

Published

on

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ’एनएसजेएफ एकेडेमी’ को स्थापना गरेको छ । नेपाली खेलकुद पत्रकारहरुको छाता सँगठन एनएसजेएफले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक शुरुवात गरिएको जनाएको छ ।

खेल पत्रकारहरुको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनिक गरेको हो । एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे ।

“सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग बिना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका खेल्नेछ,” उनले भने ।

खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने पनि मञ्चको योजना छ । युवा तथा खेलकुद मन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने बताए । “धेरै खेलको रिपोर्टिङ्ग भएको छैन । समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन । अब एकेडेमीले समग्रतामा सिङ्गो खेलकुदलाई मद्दत गर्दछ” उनले भने ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्य सचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए ।

Click to comment

Trending