Headline

सेरिएभोको भग्नावशेषबाट शुरु करिअरको अन्त्यमा एडिन जेको

Published

on

३५ बर्षको उमेरमा एडिन जेको बोस्नियाको स्टार र पाका खेलाडी दुवै हुन् । २०२२ बिश्वकप युरोपियन छनोट अन्तर्गत बुधबार बोस्नियाको नेतृत्व गर्न गइरहेका जेको आफ्नो लामो करिअरका लागि भने आमा प्रति कृतज्ञ छन्, उनलाई फुटबल खेल्न नदिएको कारण ।

राजधानी सेरिएभोमा युद्ध चलिरहदा एक दिन कलिला उमेरका जेकोले आफ्नो आमासँग बाहिर गएर फुटबल खेल्ने अनुमति मागे । जेकोलाई आमाले जान दिइनन् । उनी खेल्ने गरेको मैदानमा केही मिनेटमै भयानक बम बिष्फोट भयो । कैयौं बच्चाहरु मारिए । जेको बाचे ।

“मेरो साथीहरुसँग फुटबल खेल्न नदिएर आमाले मेरो ज्यान बचाउनु भयो । केही मिनेटमै बम बिष्फोट हुदा मेरो साथीहरु मारिए । युद्धले गर्दा मेरो बाल्यकाल नै थिएन तर यसले मलाई निकै बलियो बनायो,” जेकोले केही महिनाअघि एक अन्तर्वार्तामा भनेका थिए ।

जर्मनी र इङ्गल्याण्डमा लिग उपाधि जित्न सफल जेकोको फुटबल करिअरको अन्त्य नजिकिदै छ । उनले यो सिजन इटालियन सिरी आ मा एएस रोमाका लागि २० खेलबाट मात्रै ७ गोल गरेका छन् । जनवरीको शुरुवातमा साम्पडोरियाबिरुद्ध बिजयी गोल गरेयता उनले गोल गरेका छैनन् ।

भविष्यमा उल्फ्सबर्ग, म्यानचेस्टर सिटी र रोमाका लागि व्यवसायिक फुटबल खेल्न गइरहेका जेको जम्मा ६ बर्षका थिए जब १९९२ मा बोस्नियामा सर्बियाले आक्रमण गर्यो ।

सेरिएभोभन्दा बाहिर रहेको ओटोकामा जेकोले आफ्नो बाल्यकाल बिताए । उनको परिवार सर्बियन स्नाइपरहरुबाट बच्न ३० तल्ले भवनमा अन्य परिवारहरुसँगै शरण लिएर बस्ने गथ्र्यो । बोस्नियन सेनामा कार्यरत उनका बुवाका अुनसार स्थानीय बच्चाहरु गोलीबारी शान्त भएसँगै मैदान फुटबल खेल्न तल झर्ने गर्दथे ।

“रिस्की भएपनि बच्चाहरुलाई कही न कही त खेल्नै पथ्र्यो,” जेकोका ६६ बर्षिय बुवा मिद्दाद सम्झन्छन् ।

रोबेर्टो मान्सिनीले सम्हालेको म्यानचेस्टर सिटीमा जेको प्रमुख खेलाडी नै थिए

निकै दुब्ला जेको चाडै नै ओटोकाका गगनचुम्बि भवनहरुको बीचमा रहेका प्लास्टर गरिएको फुटबल मैदान छोड्दै बोस्नियाको दुई प्रमुख क्लब मध्येको एक जेल्येनिकरको एकेडेमीमा भर्ना भए । युद्धको फ्रन्टलाईनमा रहेको जेल्येनिकर स्टेडियममा बंकरहरु बनाइएको कारण एकेडेमीका बच्चाहरु जिम हलमा प्रशिक्षण गर्ने गर्थे ।

कोरोना भाइरसका कारण गत बर्ष आफ्नो ज्यान गुमाएका जेकोका प्रशिक्षक युसुफ सेहोभिचले २०१८ मा दिइएको एक अन्तर्वार्तामा जेकोलाई “गोल हान्नको लागि सधै बिपक्षीको पोस्टमा अगाडी बढि राख्ने बच्चा” को रुपमा सम्झने गरेको बताएका थिए ।

जेल्येनिरमा अहिले पनि प्रशिक्षक रहेका इसो एहमतोभिच जेको ठूलो खेलाडी बन्नेमा बिश्वस्त थिए । “केही रिटायर्ड कर्मचारीहरु हाम्रो प्रशिक्षण हेरेर बस्थे । त्यो समय आन्द्रे सेभचेन्को बिश्वका उत्कृष्ट खेलाडी थिए । मैले उनीहरुतिर फर्कदै जेकोलाई देखाउदै भने ‘उसलाई हेर्नुस, उ नयाँ सेभचेन्को हो,'” एहमतोभिचले भने ।

“सबै कुरा दिमागमा हुन्छ”

“जेल्येनिकरको सिनियर टोलीमा पर्दा जेको अहिले जस्तै ६ फिट ३ इन्चका थिए भने वजन २५ किलो जति कम,” क्लबलाई पाँच पटक राष्ट्रिय उपाधि जिताएका व्यवस्थापक अमिर ओसिमले भने । “तर उनीसँग अभुतपुर्व क्वालिटी थियो भने गोल गर्न सक्ने अविश्वसनीय क्षमता पनि । उनी फुटबललाई लिएर पागल नै थिए र सहि माने मै खेलाडी बन्न थाहन्थे ।”

उनको क्षमतामा बिश्वास गर्ने ओसिम थोरै मध्येका एक थिए । सधैजसो मिडफिल्डरको रुपमा खेलेका जेको जेल्येनिकरको लागि ४० खेलमा पाँच गोल मात्र गर्न सफल भए भने निकै सुस्त र खराब टेक्निक रहेको भन्दै आलोचित पनि बने ।

जेल्येनिकरमा केही समयमात्र प्रशिक्षकको रुपमा काम गरेका यिरी प्लिसेक लम्बु युवा जेकोलाई चेक टोली टेप्लिसका लागि खेल्न मनाए । निकै थोरै पैसामा टेप्लिसमा बेचेपछि जेल्येनिकरका पुर्व अध्यक्षले जेको जस्तो सुस्त खेलाडीलाई बेचेर लोटरी लागेको समेत बताएका थिए ।

हाल इटालियन टोली एएस रोमाको अब गन्तब्य कता हो उनलाई नै थाहा छैन

तर जेको दृढ थिए । टेप्लिसमा उनका समकालीन समिर मर्जिच जेकोलाई आत्मबिश्वासले भरिपूर्ण खेलाडीको रुपमा चिन्ने गर्छन् । “हामीले स्पार्टा प्रागबिरुद्ध खेल्दा जेको जम्मा १९ बर्षका थिए । त्यो सिजन उनले इङ्गल्याण्डबाट झर्खर फर्किएका थोमस रेप्काको सामना गर्दै थिए । रेप्का योद्धा जस्तै थिए । तर जेकोले नडराई उनको सामना गरे,” मर्जिचले भने ।

सबै कुरा मान्छेको दिमागमा हुन्छ । एडिन कडा, बलियो र स्थिर छन् । उनले आफ्नो जीवन र फुटबलमा धेरै दुख देखेका छन् । दवाबसँग कसरी जुध्ने र अगाडी बढ्ने उनलाई राम्ररी ज्ञान छ,” मिद्दाद भन्छन् ।

मानवीय भावनाले ओत प्रोत

१६ बर्ष आफ्नो देश बाहिर बिताए पनि जेको बोस्नियासँग निकै निकटको सम्बन्ध कायम गर्दै आएका छन् । गरिब बोस्नियामा बिरामी बच्चाहरुको रेखदेखमा सहयोग गर्नका लागि उनी आफ्नै पत्नी आम्रासँग काम गर्छन् ।

२०१२ मा म्यानचेस्टर सिटीमा रहदा उनले म्यानचेस्टरमा एक निकै बिरामी बच्चाको उपचार भइरहेको थाहा पाए । “म खाटमा सुतिरहेको थिए जब मैले अगाडी जेको, उनका बुवा आमालाई देखे । निदामै भएकोले एकछिन त सपना हो की जस्तो पनि लाग्यो,” अहिले २४ बर्षका भइसकेका एनर जेलिकले भने ।

जेकोले आर्थिक रुपमै एनरको परिवारको जिम्मा लिए तर मुख्य रुपमा उनले नैतिक समर्थन गरेका थिए ।

“फुर्सद हुँदा उनी मसँग हस्पिटलमा समय बिताउन आउथे । हामी बोर्ड गेम, प्ले स्टेसन र तास खेलेर बस्थ्यौं । हामीले कहिल्यै पनि मेरो बिमारीको बारेमा कुरा गरेनौं । खेलको बारे मात्र कुरा गर्दा म सबै समस्या भुल्ने गर्थे,” एनरले सम्झिए ।

Click to comment

Trending