Headline

एक सफल कप्तानले चाहेको बिदाई

Published

on

बङ्गलादेशबिरुद्ध थ्री नेसन्स कप कपको फाइनलमा बिराज महर्जन ८९ औं मिनेटमा मैदान प्रवेश गरे । उनलाई थाहा थियो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा उनी अन्तिम पदक दशरथ रँगशालाको मैदान भित्र छिर्दैछन् भनेर ।

त्यसैले बिराजले मैदान प्रवेश गर्नु अघि केही बेर दर्शक तर्फ हेरे । हात हल्लाए र मैदान छिरे । उनलाई रोहित चन्दले कप्तान किरण चेम्जोङ्गबाट आर्म ब्याण्ड दिएका थिए । रोहितले नै आर्म ब्याण्ड लगाइदिए र अंकमाल गर्दै मैदान प्रवेश गराए।

नेपालले खेलमा २–१ को अग्रता बनाएको थियो र अब बिराटसँग मैदान बिताउन जम्मा ७ मिनेट मात्रै थियो । शायद बिराजको लागि संसारकै सबैभन्दा छोटो समय थियो तर उनले डटेरै खेले । उनले अन्तिम पटक नेपाली खेलाडीको रुपमा बिताउने पाउने समय थियो त्यो । रेफ्रिको अन्तिम सिठीसँगै नेपालले उपाधि जित्यो ।

आफ्नो कप्तानीमा २०१६ मा तीन महिनाको अन्तरमा नेपाललाई तीन उपाधि जिताएका बिराजको करिअरमा यो चौथो उपाधि रह्यो । नेपालको सबैभन्दा सफल कप्तानको रुपमा बिराजले सन्यास लिए ।

पोखरामा पाकिस्तानबिरुद्ध २००८ को मैत्रीपूर्ण खेलमा ८९ औं मिनेटमा मैदान प्रवेश गद्र्यै डेब्यु गरेका बिराजको अन्तर्राष्ट्रिय करिअर सोमबार पनि ८९ औं मिनेटबाट अन्त्यका लागि शुरु भयो । यसपटक उनले आर्म ब्याण्ड लाउदा उनीसँग चार उपाधि रह्यो ।

उनी नेपालको तर्फबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन् । सोमबारको फाइनल उनको करिअरको ७३ औं खेल थियो ।

बिराजले नेपालको जर्सीमा एक गोल पनि गरेका छन् । लेफ्ट ब्याक र राइट ब्याक दुबै स्थानबाट खेल्न सक्ने बिराजले सन् २००९ मार्च २८ तारिखमा एएफसी च्यालेन्ज कप अन्तर्गत किर्गिस्तान विरुद्धको खेलमा गोल गरेका थिए ।

सन् २०१५ मा भारतको त्रिबेन्द्रममा आयोजना भएको साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली भारत विरुद्धको खेल (डिसेम्बर २७) बाट नेपाली टोलीको कप्तानी सम्हालेका उनले कुल १८ खेलमा नेपालको कप्तानी सम्हालेका थिए ।

नेपालले बिराजकै कप्तानीमा बँगबन्धु गोल्डकप, साग स्वर्ण र एएफसी सोलीडारिटी कप जितिसकेको थियो । चौथो उपाधि झण्डै ८ हजार दर्शक सामु नेपालले उचाल्यो । बिराजलाई खेलाडीहरुले गार्ड अफ अनर दिए ।

उनलाई आफ्नो खेलाडीहरुले नै पालै पालो अंकमाल गर्दै बिदाई दिए । बिराज भावुक भए । उनको आखाबाट निरन्तर आसु बह्यो । उनलाई प्रधानमन्त्री के पी शर्मा ओलीले सन्यासको ब्लेजर लगाइदिए । ट्रफि बिराजले नै उचाले, उनी खेलाडीरुको हुलमा ब्लेजर लगाएर नै ट्रफि समात्दै खुशीयाली मनाए । यो बिराज आफैले पनि नसोचेको बिदाई थियो ।

नेपाली फुटबलमा कसैले पनि नपाएको बिदाई बिराजले लिएर गए, एक सफल फुटबलरको रुपमा ।

 

Click to comment

Trending