Headline

२१ बर्षदेखिको घाउमा मलम लगाउने अवसर

Published

on

बालगोपाल महर्जनलाई अझै पनि त्यो हारले पोल्छ । २१ बर्ष अघि दशरथ रँगशालामा नेपाल फाइनल पुग्दा दक्षिण एसियाली खेलकुदको स्वर्ण जित्ने प्रमुख दाबेदार थियो । त्यो समयसम्म सागमा दक्षिण एसियाको सिनियर टोली नै भिड्ने भएका कारण हरेक खेलको महत्व बिशेष हुन्थ्यो ।

एक त घरमै खेलिरहेको नेपाल र फाइनलको प्रतिद्वन्दी बङ्गलादेश । नेपाली फुटबल समर्थकहरुका लागि गोल्ड मेडलले औपचारिकता मात्र पुरा गर्न बाकी थियो । तर भयो उल्टो ।

पहिलो हाफमा केही मिनेट मात्र बाकी रहदा नेपालको पोस्टमा घम्सा घम्सीका बीच मोहम्मल अलफाज अहमदले गोल गरिदिए । दोश्रो हाफमा बङ्गलादेश नेपालको पोस्टमा जान पनि चाहेन । उसले शायद आफ्नो फुटबल इतिहासकै सबैभन्दा रक्षात्मक फुटबल त्यही खेलमा खेल्यो ।

नेपालले धेरै प्रयास गर्यो तर बङ्गलादेशले डि एरियामा पर्खाल नै बनाइसकेको थियो । करिब १५ हजार दर्शकबीच नेपाल पराजित भयो । सबै स्तब्ध भए । यो चार अक्टोबर १९९९ को कुरा थियो । बालगोपाल टोली सदस्य थिए । अहिले नेपालका प्रशिक्षक छन् ।

“हाम्रो टिम निकै बलियो थियो । घरमै भएको फाइनलमा सबै खेलाडी फिट थिए । बल पोजेसनदेखि खेलसम्म हामी अब्बल थियौं । पहिलो हाफ सकिने बेला गोल खान पुग्यौँ । दोस्रो हाफ बङ्गलादेशले निकै डिफेन्सिभ खेल्यो,” बालगोपाल सम्झन्छन् ।

“हुन त सबै खेल महत्वपूर्ण हुन्छ तर फाइनल मेरो लागि निकै महत्वपूर्ण छ । थ्री नेसन्स कप जित्ने हो भने आठौँ सागमा स्वर्ण जित्न नसक्दाको चोटमा मलम लगाए जस्तो अवश्य हुनेछ,” उनले भने ।

बङ्गलादेशले १५ वर्ष पछि आफ्नो घर बहिर फाइनल खेल्दै छ । नेपालको सिनियर राष्ट्रिय टोलीले पनि १९९९ पछि नै पहिलो पटक दशरथ रङ्गशालामा पहिलो फाइनल खेल्दै छ । बङ्गलादेशले १९९९ यता नै घर बहिर कुनै प्रतियोगिता जितेको छैन । दुवै टोलीलाई फेरी पनि नयाँ ईतिहास राच्ने मौका छ ।

“फुटबल बङ्गलादेशका लागि धेरै मन्य राख्छ र बङ्गलादेशको फुटबल संघ र बङ्गलादेशका जनताहरु सबै खुशी हुने नै छन्,” बङ्गलादेशका प्रशिक्षक जेमी डे भन्छन् ।

बङ्गलादेश फुटबलका लागि आँफैमा पनि पागल देश हो र थ्री नेसन्सको उपाधि उसको लागि पनि धेरै महत्वपूर्ण छ । बङ्गलादेशीहरुमा फुटबलमा ’प्यासन’ को कमी छैन । बङ्गलादेश फुटबल संघका अधक्ष्य काजी सलाउदिन यो प्रतियोगिताकै लागि नेपाल समेत आएका छन् । बङ्गलादेशी पत्रकारहरुको जमात पनि सानो छैन ।

विश्वकप छनोटको तयारीका लागि नेपाल आएको बताए पनि यो प्रतियोगिता बङ्गलादेशका लागि निकै ठुलो हो । अझै पछिल्ला खेलहरु हेर्ने हो भने नेपाल र बङ्गलादेश चिरप्रतिद्वन्दी भन्दा कम छैनन् । नेपालले बङ्गलादेशसँग ईतिहासमै सबै भन्दा धेरै पटक खेलेको छ ।

नेपालले ६ वर्ष पछि दशरथ रङ्गशालामा औपचारिक खेल नै बङ्गलादेश विरुद्ध खेलेको हो । सोमबारको फाइनलमा बङ्गलादेशलाई हराउने मौका अझै छ ।

१९९९ को चोट त याद छदैँ छ तर पनि बालगोपाल नेपालको युवा टोलीबाट फाइनलमा राम्रो प्रदर्शनको आशा गर्छन् । “लिग भएको कारण दुई खेलमा दुई अंक निकाल्दै हामी फाइनल पुग्यौ । तर फाइनलमा भने खेलाडीहरुलाई अरु बिकल्प छैन । जसरी हुन्छ गोल गर्नु पर्छ र राम्रो प्रदर्शन पनि दिनै पर्छ,” बालगोपालले भने ।

नेपालले उपाधि जितेको खण्डमा २१ बर्षदेखिको चोटमा मलम त लाग्छ नै, सँगै दक्षिण एसियाका दुई साना देशहरुबीचको ‘फुटबल राइभलरी’ मा अर्को अध्यायको शुरुवात पनि हुनेछ ।

Click to comment

Trending