Headline

इक्वेस्ट्रियनको बिश्वकप छनोटमा नेपालको झण्डामुनि भारतीयहरुको सहभागिता

Published

on

भारतमा हालै सम्पन्न इक्वेस्ट्रियन (घोँडचढी) को टेन्ट पेगिङ्ग बिश्वकप छनोटमा नेपालको नेतृत्व गर्दै भारतीय घुंडसवारहरुले नै सहभागिता जनाएको खुल्न आएको छ ।

भारतीय इक्वेस्ट्रियन महासंघको आयोजना र अन्तर्राष्ट्रिय टेन्ट पेगिङ्ग महासंघ (आईटिपिएफ) को तत्वावधानमा माच १६ देखि १८ सम्म ग्रेटर नोयडामा भएको प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, बेलारुस र अमेरिकाको सहभागिता रहेको थियो । नेपालको प्रतिनीधित्व गर्ने टिमका सम्पूर्ण सदस्य भने भारतीय नै रहेका थिए ।

ती सदस्यहरुको नाम पनि गलत उच्चारण गरिदै स्कोरकार्डमा थर समेत राखिएको थिएन । योगेन्दर, गुलाम मोहम्मद, कपिल र बिनय नाम गरेका भारतीय नागरिकहरुलाई योगन्दर, गोलम, केपिल र बिनय नाम दिदै सहभागी गराइएको टाइम्स अफ इण्डियाले आफ्नो रिपोर्टमा खुलाशा गरेको छ ।

यस बिषयमा नेपाल इक्वेस्ट्रियन संघ लगायत यस किसिमका प्रतियोगितामा सहभागितका लागि स्विकृतिको आवश्यक पर्ने नेपाल ओलम्पिक कमिटी अथवा राष्ट्रिय खेलकुद परिषदलाई जानकारी नै छैन ।

नेपालमा घुँडचढीमा नेपाल आर्मीका घुँडसवारहरु मात्रै रहेका कारण अन्तर्राष्ट्रिय सहभागिताका लागि खेलाडीहरुले नेपाल आर्मीको पनि स्विकृति लिन आवश्यक छ । भारतीय इक्वेस्ट्रिय महासंघका अध्यक्ष कर्नेल जयविर सिँहले सबै नाम नेपाल इक्वेस्ट्रियन संघबाट आएको दावी गरेका छन् ।

“यसमा नेपाल इक्वेस्ट्रियन संघले नै नाम पठाउदै स्किृति जनाएको हो । त्यसैले हामीलाई यी खेलाडीहरुमाथि कुनै शंका भएन । नेपाली नागरिकहरुलाई भारत भ्रमणको लागि भिसाको आवश्यकता नपर्ने भएका कारण हाम्रो ध्यान अन्य देशका खेलाडीहरुमा बढी गयो,” सिँहलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ ।

सिँहका अनुसार शिक्षित श्रेष्ठ नाम गरेका एक व्यक्तिले नेपाल इक्वेस्ट्रियन संघको नाम प्रयोग गर्दै खेलाडीहरुको सुची पठाएका हुन । नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रविराज राजकर्णिकारले यस बिषयमा आफू पूर्ण अनभिज्ञ रहेको र अहिले अनुसन्धानमा भारतीय पक्षलाई सहयोग गरिरहेको बताए ।

“सबैभन्दा पहिले त हामीले दुई हप्ता अघिमात्रै आईटिपिएफको मान्यता पाएका हौं । त्यसअघि हामीलाई अन्तर्राष्ट्रिय स्पर्धाहरुमा सहभागिता गर्न पाइने लाइसेन्स पनि थिएन । अहिले छ तर हामी पूर्ण मान्यता पाउनेतर्फ नै कसरत गरिरहेका छौं । कसैले भारतीय इक्वेस्ट्रियन संघलाई नराम्ररी ठगेको हुन सक्छ,” नेपाल एथ्लेटिक्स संघमा महासचिव पनि रहिसकेका राजकर्णिकारले विस्पोर्ट्जलाई बताए ।

“अनुसन्धान गर्दै जादा एक आशुतोष मिश्रा भन्ने व्यक्तिले आफूलाई नेपालीको रुपमा प्रस्तुत गर्दै यो सबै काम गरेको देखिएको छ । ती आशुतोष भन्ने व्यक्तिले भने केही दिनअघि आत्महत्या गरेको पनि खुल्न आएको छ । हामीलाई यो प्रतियोगिताको कुनै पनि निमन्त्रणा समेत आएको थिएन । अहिले भारतीय पक्षलाई हामी जति सक्दो सहयोग गरिरहेका छौं,” उनले भने ।

आईटिपिएफको नियम अनुसार बिश्वकप छनोटको मान्यता पाउनका लागि चार वा सोभन्दा बढी टोलीको सहभागिता रहन आवश्यक छ । राजकर्णिकारले एकै सर्कलमा भएर पनि भारतीय इक्वेस्ट्रियन संघ नेपाली टोलीमा भारतीय खेलाडीको उपस्थितिबारे अनभिज्ञ रहनुमा अचम्म मान्दै थिए ।

“हामीले पत्ता लगाउदा नेपाली टोली भनेर सहभागी जनाउने केही भारतीयहरु त्यहाँको राष्ट्रिय प्रतियोगितामा पनि खेलिसकेका रैछन् । यसको सर्कल निकै सानो हुन्छ र झण्डै एउटै पनि । भारतीय पक्षले आफूलाई नभएको भन्दा मलाई पनि अचम्म लागेको थियो,” उनले भने ।

उक्त प्रतियोगितामा ५ सय १५ अंकका साथ भारत पहिलो हुदै २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने बिश्वकपका लागि छनोट भएको थियो । पाकिस्तान दोश्रो र नेपाल तेश्रो भएको थियो ।

Click to comment

Trending