Headline

हतास, आक्रमक, असंयम बालगोपाल (भिडियो सहित)

Published

on

अग्रपंक्ति शुन्य रहदा १० खेलाडीमा सिमित किर्गिस्तानको अण्डर–२३ टोलीबिरुद्ध गोलरहित बराबरी खेलेपछि नेपाली प्रशिक्षक बालगोपाल महर्जन बिहिवार राति पोस्ट म्याच कन्फ्रेन्समा हतास, आक्रमक र असंयम देखिए ।

नेपाली दर्शकले लामो समयपछि राष्ट्रिय टोलीको खेल दशरथ रँगशालामा हेर्ने अवसर त पाए तर टिमको खेलले धेरैलाई निराश बनायो । नेपालको खेल गोलकिपर, रक्षापंक्ति र मध्यपंक्ति वरि–परि नै सिमित थियो । आक्रमणमा रणनीतिको कमि स्पष्ट देखिन्थ्यो ।

मैदानमा आक्रमणको रणनीतिमा कमि देखिएपनि बालगोपाल खेलपछिको पत्रकार सम्मेलनमा भने आक्रमक शैलिमा प्रस्तुत भए । त्यसको लागि पुर्व तयारी नै गरेर आए जस्तो ।

किर्गिस्तानबिरुद्ध खेल शुरु हुनु एक दिन अघि नै बालगोपाल दवाबमा थिए । यसको कारण थियो केही अनुभवी खेलाडीहरुलाई बाहिर राख्ने उनको बोल्ड निर्णय । सामाजिक सञ्जालमा उनको खुबै आलोचना भयो ।

नयाँ अनुहारलाई समेट्दै बनाएको प्रयोगात्मक टिमले आधा घण्टाभन्दा बढी १० खेलाडीमा सिमित टोलीबिरुद्ध परिणाम दिन नसक्दा बालगोपाल पत्रकार सम्मेलनको शुरुवातदेखि नै आक्रमक शैलिमा प्रस्तुत भए ।

“यसअघि बङ्गलादेशबिरुद्ध खेलिएको टोलीलाई नै निरन्तरता दिने बताउनु भएपनि नयाँ अनुहार समेट्नु भयो, अहिले अग्रपंक्तिमा ती खेलाडीहरुका अभाव खड्किएको महसुस भएको छ” भन्ने प्रश्न सक्किन नपाउदै बालगोपालले झोक्किदै प्रतिप्रश्न गरेः “के लाग्छ तपाईलाई ? नयाँ खेलाडी ल्याएकोमा तपाईलाई के लाग्छ ? अरु ल्याउन पर्ने थियो त्यसोभए तपाईले भन्नु भएको मतलब ? मैले जुन ल्याएको थिए, मैले जुन सोचेको थिए, म सन्तुष्ट छु ।”

बालगोपालले यसरी आक्रमक शैलिमा प्रतिप्रश्न गर्दा उनी हतास रहेको स्पष्ट देखिन्थ्यो । सामान्य प्रश्नमा नै बालगोपाल आफै त्यसलाई खेलाडी छनोटको बिषयसँग जोड्दै आफ्नो निर्णयको रक्षा गर्न तर्फ केन्द्रित देखिए ।

“गोलरहित बराबरी हुँदा फाइनलको समिकरण आफ्नो हातमा नरहँदा अलिकति गाह्रै हुन्छ, यस्तो हिसाबमा यो परिणामलाई कसरी लिनु हुन्छ” भन्ने प्रश्नमा बालगोपालको उत्तर यस्तो थियोः “मैले जुन टिम छानेको छु, वहाँहरु बेस्ट हो नेपालको लागि । म सन्तुष्ट छु, तपाईहरु सन्तुष्ट होला नहोला मलाई थाहा छैन ।”

“तपाई नतिजा मात्र हेर्नु हुन्छ कि खेल पनि हेर्नु हुन्छ ? बङ्गलादेशले हामी जस्तै ७० प्रतिशत पोजेसन राखेर जितेको त होइन । उनीहरुले ब्याक पासबाट आत्मघाती गोल मात्र पाएको हो । हाम्रो गोल नभएको मात्र हो । हामीले जति दवाब दिएको थियौं त्यति बङ्गलादेशले दिएको थियो जस्तो लाग्दैन मलाई,” परिणामको बिषयमा प्रश्न राख्दा उनले भने ।

बालगोपाल नेपालको सफल प्रशिक्षकहरु मध्ये एक हुन् । बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप जिताएका उनले घरेलु भुमिमै नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको स्वर्ण र साफ अण्डर–१९ च्याम्पियनसिप पनि जिताइसकेका छन् ।

एक सफल प्रशिक्षकले टिमको प्रदर्शनको बिषयमा कुरा उठ्दा संयमता गुमाउदा उनको व्यवसायिकता माथि पनि प्रश्न उठ्न सक्छ । शायद बिहिवारको बराबरीमा बालगोपालले आफ्नो टोलीको हार देखेका थिए ।

भिडियोमा हेर्नुस बालगोपालले कसरी संयमता गुमाए:

Click to comment

Trending