Headline

नेपालका सबैभन्दा सफल कप्तान बिराज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिदै 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले अन्तार्राष्ट्रिय फुटबलमा बिट मार्ने भएका छन् । काठमाडौंमा जारी थ्री नेसन्स कपको समाप्तिसँगै बिराजको अन्तर्राष्ट्रिय करिअरको पनि अन्त्य हुदैछ ।

बिराजले यसअघि नै आफ्नो लागि यो प्रतियोगिता अन्त्य हुने बताइसकेका थिए । घरेलु दर्शकमाझ आफ्नो १२ बर्षे करिअरलाई अन्त्य गर्न सबैभन्दा उपयुक्त प्लेफर्म प्राप्त गरेका छन् । बिराजको आशा उपाधिसँगै सन्यास लिने हुनेछ ।

सन् २००८ मार्च २५ मा पोखरामा आयोजना भएको पाकिस्तान विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट नेपालको लागि डेब्यु गरेका बिराजले हाल सम्म कुल ७२ क्याप जितेका छन् । उनी नेपालको तर्फबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन् ।

बिराजले नेपालको जर्सीमा एक गोल पनि गरेका छन् । लेफ्ट ब्याक र राइट ब्याक दुबै स्थानबाट खेल्न सक्ने बिराजले सन् २००९ मार्च २८ तारिखमा एएफसी च्यालेन्ज कप अन्तर्गत किर्गिस्तान विरुद्धको खेलमा गोल गरेका थिए ।

सन् २०१५ मा भारतको त्रिबेन्द्रममा आयोजना भएको साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली भारत विरुद्धको खेल (डिसेम्बर २७) बाट नेपाली टोलीको कप्तानी सम्हालेका उनले कुल १८ खेलमा नेपालको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानीमा नेपालले उपाधिको खडेरी तोड्दै एक बर्ष भित्र नै तीन उपाधि जितेको थियो । सन् २०१६ जनवरीमा बंगलादेशको आयोजनामा भएको बंगबंधु कपको फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले २३ बर्ष पछि पहिलो उपाधि चुमेको थियो ।

त्यस्तै नेपालले भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको स्वर्ण पदकको पनि उपाधि चुमेको थियो । नेपालले उपाधि चुम्ने क्रममा फाइनलमा चिरप्रतिद्वन्दि भारतलाई फाइनलमा २–१ ले पराजित गरेको थियो ।

बिराजको कप्तानीमा नेपालले मलेसियामा आयोजना भएको सोलिडारिटी कप पनि जितेको थियो । सन् २०१६ को नोभेम्बरमा भएको उक्त प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गर्दा बिराजको कप्तानीमा एकै बर्ष तीन उपाधि चुम्न सफल भएको थियो ।

Click to comment

Trending