Headline

अन्ततः ज्लाटनले पनि आँसु थाम्न सकेनन्

Published

on

मिडियामा आफूले दिने गरेको बोल्ड अभिव्यक्तिका कारण फरक छवि बनाएका स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच अन्ततः रोएका छन् ।

सन्यासबाट फर्कदै झण्डै पाँच बर्षपछि स्विडेनको राष्ट्रिय टोलीमा फर्किएका ज्लाटनले सोमबार भएको एक पत्रकार सम्मेलनमा आफ्नो आँसु थाम्न सकेनन् । राष्ट्रिय टोलीको पुनरागमनलाई लिएर टिनऐज कटेका उनका दुई छोराहरु म्याक्सिमिलियन र भिन्सेन्टले के सोचेका छन् भन्ने प्रश्नमा ज्लाटन बिरलै देखिने संवेदनशील रुपमा प्रस्तुत भएका थिए ।

“यो मेरो लागि राम्रो प्रश्न होइन । मसँग यहा भिन्सेन्ट थिए जसलाई छोड्ने बित्तिकै उनी रोए । तर ठिकै छ, ठिकै छ,” यति भन्दा ज्लाटनको आँखाभरि आँसु देखियो ।

जर्जियाबिरुद्ध बिहिबार हुने २०२२ बिश्वकप छनोट अघि बोल्दै आफ्नो गुणगान गाउदै नथाक्ने ३९ बर्षिय ज्लाटनले सोमबार भने आफू युरो २०१६ को युरो कपमा अन्तर्राष्ट्रिय सन्यास घोषणा गर्दाको तुलनामा अहिले मैदान भित्र र बाहिर निकै धैर्य रहेको पनि बताए । “तपाई म अहिले पहिले भन्दा धेरै राम्रो र बिनम्र भएको सोचिरहनु भएको होला होइन,” उनले जोक गर्दै भने ।

स्विडेनका सबैभन्दा सफल खेलाडी एसि मिलान फर्वार्ड ज्लाटनले देशका लागि १ सय १६ खेलमा ६२ गोल गरेपछि सन्यास लिएका थिए । राष्ट्रिय टोलीमा फर्किएपछि सामाजिक सञ्जालहरुमा उनले आफ्नो नियमित शैलिमा घोषणा गर्दै लेखेका थिएः “द रिटर्न अफ द गड” (भगवनको पुनरागमन) ।

ज्लाटनले सोमबार आफ्नो बिगतको उपलब्धि नभएर डिजर्भ गर्ने भएर नै टिममा स्थान दिनु उपयुक्त हुने बताएका थिए । आइतबार चोटबाट फर्किएपछि आफ्नो दोश्रो खेलमा फियोरेन्टिनाबिरुद्ध ३–२ को जितमा ज्लाटनले गोल गरेपछि एसि मिलान शिर्ष स्थानको शहरी प्रतिद्वन्दी इन्टरमाथि दवाब कायम गर्न सफल नै भएको छ ।

अघिल्लो सिजनको आधा भन्दा बढी खेल सकिदा एसि मिलान फर्किएका ज्लाटन यो सिजन पनि निकै फर्ममा नै देखिएका छन् । उनले १५ इटालियन सिरी आ खेलमा १५ गोल गरिसकेका छन् ।

यसअघि ज्लाटनसँग सार्वजनिक रुपमै बादबिवादमा उत्रिएका स्विडेन प्रशिक्षक यान एन्डरसन पनि सोमबारको पत्रकार सम्मेलनमा उपस्थित थिए । तर दुवै जनाले आफ्नो बिगतलाई पछाडी छोडेर अघि बढेको बताइरहेका थिए ।

एक अन्तर्वार्ताका क्रममा ज्लाटनले आफू स्विडेनबाट खेल्न मिस गरिरहेको बताएपछि गत नोभेम्बरमा एन्डरसन उनलाई भेट्न मिलान नै पुगेका थिए । “जब मैले मिलान छोडे तब हामीले बिगतका सबै कुराहरुलाई पछाडी छोडिसकेका थियौं,” एन्डरसनले भने ।

Click to comment

Trending