Headline

रोमान्चक जित निकाल्दै भारतद्वारा शृंखला माथि कब्जा

Published

on

पाहुना टोली इंग्ल्यान्ड माथि ३६ रनको रोमान्चक जित निकाल्दै घरेलु टोली भारतले पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । २-२ को बराबरीमा रहेको शृंखला अन्तर्गतको पाँचौं तथा अन्तिम खेलमा जित हात पार्दै भारतले शृंखला ३-२ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

जितका लागि २२५ रनको कठिन लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डले पहिलो ओभरको दोश्रो बलमा नै ओपनर जेसन रोय (दुई बलमा शुन्य रन) लाई गुमाएर निकै खराब सुरुवात गर्यो । खराब सुरुवातका बाबजुद अर्का ओपनर जस बटलर र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मालानले दोश्रो विकेटका लागि ८२ बलमा १३० रन जोड्दै इंग्ल्यान्डको जितको आशा कायम नै राख्न सफल भए ।

तर ४६ बल खेल्दै नौं चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६८ रन बनाएका मालान र ३४ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५२ रनको पारी खेलेका बटलर क्रमश शार्दुल ठाकुर र भुवनेश्वर कुमारको शिकार बन्दा इंग्ल्यान्ड सम्हालिन सकेन र हारको सामना गर्न पुग्यो ।

त्यस पछि आएका ब्याट्सम्यानहरु चल्न नसक्दा इंग्ल्यान्डले खेल मात्र गुमाएन शृंखला जित्नबाट पनि बन्चित रह्यो ।

भारतका ठाकुरले सर्वाधिक तीन विकेट लिए भने किफायती बलिङ गरेका कुमारले चार ओभरमा मात्र १५ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा २२४ रनको योगफल तयार पार्यो ।

भारतको तर्फबाट कप्तान कोहलीले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । कोहलीको इंग्ल्यान्ड विरुद्धको जारी शृंखलामा तेश्रो अर्धशतक हो । ५२ बलको सामना गरेका उनले सात चौका र दुई छक्का प्रहार गरे ।

भारतको लागि आजको खेलमा ओपनिङमा आएका कप्तान बिराट कोहलीले रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि नौं ओभरमा ९४ रन जोड्दै आक्रमक सुरुवात दिए । बेन स्टोक्सको बलमा बोल्ड भएका शर्माले ३४ बल खेल्दै चार चौका र पाँच छक्काको मद्दतमा ६४ रनको पारी खेले ।

रोहितको विकेटको पतन पछि पनि भारत रोकिएन । कप्तान कोहलीले दोश्रो विकेटका लागि सुर्यकुमार यादव (१७ बलमा ३२ रन) सँग २६ बलमा ४९ जोडे । त्यस्तै आजको खेलमा चौथों नम्बरमा ब्याटिङ गर्न आएका हार्दिक पन्ड्यासँग मिलेर कोहलीले तेश्रो विकेटका लागि ४० बलमा अविजित ८१ रन जोडे । अविजित रहेका पन्ड्याले १७ बलमा ३९ रनको योगदान दिए ।

इंग्ल्यान्डका बेन स्टोक्स र आदिल रशिदले समान १-१ विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन रहन पुगे ।

Click to comment

Trending