Headline

नेपाली फुटबलकै पहिलो अक्सन: बिकास खवास सहित ८ खेलाडीमा लाग्यो सबैभन्दा बढी मुल्य

Published

on

नेपाली फुटबलमै पहिलो पटक भएको अक्सनमा युवा खेलाडी बिकास खवास सहित ८ जना खेलाडी सर्वाधिक रकममा बिक्रि भएका छन् ।

बैशाख ११ गतेदेखि दशरथ रँगशालामा हुन गइरहेको नेपाल सुपर लिगका लागि काठमाडौमा भएको अक्सनमा राष्ट्रिय टोलीका बिकाससँगै एरिक बिष्ट, सुजल श्रेष्ठ, दिप कार्की, बिशाल सुनुवार, सुनिल बल, तेज तामाङ र दिनेश राजबंशी सर्वाधिक २ लाख रकममा बिक्रि भए ।

सबै खेलाडीको लागि एक भन्दा बढी टोलीले खरिद गर्ने इच्छा देखाएपछि गोला प्रथा मार्फत फ्रेञ्चाइजहरुले दिएका थिए ।

चार टिमले रुची देखाएपछि त्रिभुवन आर्मी क्लबका डिफेण्डर बिकासलाई एफसी चितवनले पाएको थियो । एरिकका लागि दुई टोलीबीच भिडन्त हुँदा ललितपुरले बाजी मारेको थियो । नेपाललाई दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जिताएका कप्तान सुजल श्रेष्ठको लागि पनि चार टोलीले इच्छा देखाएका थिए ।

शहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट खेल्दै आएका सुजललाई पोखरा थण्डर्सले गोला प्रथामा लिएको थियो । पोखराले मनाङ मस्र्याङ्गदी क्लबका गोलरक्षक दिप कार्कीलाई पनि तीन टिमबीचको घम्सा घम्सीमा लियो ।

अर्का गोलकिपर बिशाल सुनुवारलाई चितवनले तीन टिमबीचको प्रतिस्पर्धामा लिन सफल भएको थियो । दिनको शुरुवातमा तेज तामाङ २ लाखमा जाने पहिलो खेलाडी बने । सर्वाधिक ६ टिमले रुची देखाउदा तेजलाई काठमाडौं रेजर्सले हासिल गर्यो ।

सुनिल बिराटनगरमा गए भने दिनेश राजबंशीलाई धनगढी सिटी एफसीले दुई टोलीबीच प्रतिस्पर्धा चल्दा गोलप्रथामा भित्र्याएको थियो ।

आर्मीका अर्का खेलाडी सन्तोष तामाङ र शहीद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता तथा एपिएफ फर्वार्ड आशिष लामा भने अपेक्षाकृत रुपमा बिकेनन् । उनीहरु दुवै एक लाख रुपैयाको बेस प्राइसमा गएका थिए ।

आशिषलाई बुटवल लुम्बिनी एफसी र सन्तोषलाई बिराटनगर सिटीले बोली लगाउदा अन्य टोलीहरुले चासो देखाएका थिएनन् ।

नियमित अक्सनको समाप्तिपछि ललितपुर सिटी एफसीले विस लिस्टबाट नेपाल पुलिस क्लबका गोलकिपर अर्पण कार्कीलाई लिएको थियो भने धनगढीले एनआरटी दर्शन गुरुङलाई भित्र्याएको थियो । दुवै १ लाख बेस प्राइसमा गएका थिए ।

बिराटनगरले दिपक राइ र नीर कुमार राइलाई लियो भने पोखराले सुरज गुरुङ र सुजित बढाथोकीलाई लियो ।

घरेलु फुटबलमा स्थापित भएर पनि नबिकेका खेलाडीहरुको संख्या भने ठूलै रह्यो । यसमा आर्मीका जर्ज प्रिन्स कार्की सबैभन्दा ठूलो नाम रहे भने अन्य खेलाडीहरुमा पुर्व नेपाल कप्तान बिराज महर्जन, रवि पासवान, छिरिङ्ग गुरुङ, सुभाष गुरुङ, भोला सिलवाल, दिलेन लोक्तान, रेजिन सुब्बा, दिपेश घले र कर्ण लिम्बु रहे ।

Click to comment

Trending