लेख

इङ्गल्याण्डबिरुद्ध भारतलाई अन्तिम ओभरमा सनसनीपूर्ण जित

Published

on

निकै नै रोमाञ्चक खेलमा इङ्गल्याण्डलाई ८ रनको झिनो अन्तरले पराजित गर्दै भारतले पाँच म्याचको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा २–२ को बराबरी गरेको छ ।

सुर्य कुमार यादवले भारतीय टोलीमा लामो समयदेखिको पर्खाइलाई उत्कृष्ट ढँगले अन्त्य गरेपछि भारतले अहमदाबादमा पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा १ सय ८५ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो । शार्दुल ठाकुर र राहुल चाहरले महत्वपूर्ण समयमा विकेट लिएपछि इङ्गल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनायो ।

ठाकुरले नै इङ्गल्याण्डलाई झण्डै अन्तिम ओभरमा इङ्गल्याण्डलाई जितको कोसेली दिएका थिए तर उनी बाल–बाल बचे । अन्तिम ओभरमा २३ रन चाहिएको अवस्थामा क्रिस जोर्डनले पहिलो बलमा एक रन लिदै जोफ्रा आर्चरलाई स्ट्राइक दिए ।

आर्चरले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गरेपछि इङ्गल्याण्डलाई तीन बलमा मात्र १२ रनको आवश्यकत रह्यो । ठाकुरले दुई वाइड दिएपछि त्यो १० रनमा झर्यो । चौथो बलमा आर्चरले एक रनमात्र लिए भने पाचौं बलमा जोर्डन बोल्ड भएपछि खेल भारतको पक्षमा गएको थियो ।

यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओपनर जोस बट्लर (९) लाई सस्तोमै गुमाएपछि अर्का ओपनर जेसन रोय र डाविड मलन (१४) ले इङ्गल्याण्डलाई ४५ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर दुवै ब्याट्स्म्यान ६ रनको अन्तरमा आउट भएपछि भारतले खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

रोयले २७ बलमा ६ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए । बेन स्टोक्स र जोनी बेयरस्टोले ६५ रनको पार्टनरसिप गर्दै इङ्गल्याण्डलाई खेलमा फर्काएका थिए । तर चाहरले बेयरस्टो र ठाकुरले लगातार दुई बलमा स्टोक्ससँगै कप्तान ओइन मोर्गनको विकेट लिएपछि खेल पूर्ण रुपमा भारततर्फ मोडियो ।

स्टोक्सले २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाए भने बेयरस्टोले १९ बलमा २५ रन जोडे ।

आईपिएलमा देखाएको प्रदर्शनले यसअघि नै टिममा हुनुपर्ने बहस चल्दै गर्दा यादवले बिहिबार इङ्गल्याण्डबिरुद्ध पाएको मौकामा २८ बलमै अद्र्धशतक ठोकेका थिए ।

दोश्रो ट्वान्टी ट्वान्टीमा टिममा रहेपनि ब्याटिङ्ग गर्ने मौका नपाएका यादवलाई तेश्रो खेलमा स्थान दिइएको थिएन । पहिलो तीन खेलमा मात्र एक रन बनाएका केएल राहुलमाथि एक पटक फेरि बिश्वास गरेको भारतले ओपनर रोहित शर्मा (१२) लाई २१ रन हुदा गुमाएको थियो ।

आफूले सामना गरेको पहिलो अन्तर्राष्ट्रिय बलमै जोफ्रा आर्चरलाई फाइनल लेगमाथि बाट छक्का प्रहार गर्दै खाता खोलेका यादवले राहुल (१४) सँग ४२ रनको साझेदारी गरे ।

कप्तान बिराट कोहली एक रनमै अदिल रशिदको गुगलीको शिकार भएपछि यादवले रिसभ पन्तसँग ४० रन जोडे । यादव स्याम कुरानको बलमा डाविड मलनबाट आउट भए । ३१ बलको सामना गरेका उनले ६ चौका र तीन छकाको मद्दतमा ५७ रन बनाए ।

पन्तले २३ बलमा ३० र श्रेयसले १८ बलमा ३७ रन जोडे । श्रेयसले पाँच चौका र एक छक्का प्रहार गरे । इङ्गल्याण्डका लागि आर्चरले सर्वाधिक चार विकेट लिए । इङ्गल्याण्डले श्रृंखलामा २–१ को अग्रता लिएको छ ।

Click to comment

Trending