Headline

इण्डियन लेजेण्ड्समा भारतीय टोलीबाटै खेल्न सक्ने पाँच खेलाडी

Published

on

भारतमा क्रिकेटका सन्यास लिइसकेका खेलाडीहरुको बीचको रोड सेफ्टी वल्र्ड सिरिजमा भारतीय लिजेण्डको टोलीले सशक्त प्रदर्शन गर्दै आइरहेको छ । मात्र एक खेलमा पराजित भारतीय टोली नेट रनरेटका आधारमा श्रीलंकन टिमभन्दा अगाडी शिर्ष स्थानमा रहेको छ ।

केही समयअघि मात्रै बिश्व क्रिकेटमा चर्चित नाम रहेका खेलाडीहरु प्रतियोगितामा सहभागि छन् । गत बर्ष शुरु भएको सिरिज कोरोना भाइरसका कारण चार खेलपछि नै स्थगित गरिएको थियो । अहिले भाइरसको संक्रमण केही थामिएपछि यसलाई पुन सुचारु गरिएको हो । भारत प्रतियोगितामा निकै बलियो देखिएको छ र यस्ता खेलाडीहरु पनि छन् जो अहिले पनि भारतको सिनियर टिमबाटै खेल्ने दम राख्छन् । हेरौं ती नामहरुः

१. वीरेन्द्र सहवाग

सहवागलाई लिएर कति कुरा अझै पनि परिवर्तन भएको छैन भन्दै उनले पहिलो बलमै प्रहार गरेको चौकाको फोटो राख्दै मिमहरु बनेका छन् । लिग चरणमा बङ्गलादेशबिरुद्ध सहवागले ३५ बलमै ८० रन ठोके । यस क्रममा उनले प्रतियोगिताकै तिब्र गतिको अद्र्धशतक प्रहार गरे । बलरमाथि हावी हुन सक्ने उनको कला अझै कायमै छ ।

२. सचिन तेन्दुल्कर

आफूलाई किन क्रिकेटमा भगवानको रुपमा पुजिने गरिन्छ भन्ने कुरालाई सचिनले दक्षिण अफ्रिका लेजेण्डबिरुद्धको खेलमा साबित गरिदिए । इण्डियन लेजेण्डले उक्त खेलमा शुरुमै सहवागलाई गुमायो । त्यसपछि सचिनले आफ्नो क्लास एकपटक फेरि देखाए ।

उनले ३७ बलमा ६० रन प्रहार गरे । उनले स्ट्रेट ड्राइभमा प्रहार गरेका चौकाहरुले उनी अझै पनि प्रतिस्पर्धात्मक क्रिकेटका लागि बुढो नभएको साबित गरेका थिए । उनले उक्त खेलमा ९ चौका प्रहार गरे जुन सबै उनको पुरानो दिनको झल्को दिने किसिमका थिए ।

३. युवराज सिँह

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो क्रिकेटर युवराज सिँहमा अभै पनि टाइमिङ्ग र पावरको कमि छैन । दक्षिण अफ्रिका लेजेण्डबिरुद्ध उनले बनाएको २२ बलमा नटआउट ५२ रनले यसलाई साबित गरिसकेको छ । उनले यस क्रममा ६ वटा छक्का प्रहार गरे जसमध्ये चार लगातार थियो ।

ब्याटिङ्ग बाहेक युवराजले बलिङ्ग मार्फत पनि भारतीय लेजेण्डको टोलीमा राम्रो योगदान दिदै आएका छन् । उनले हरेक खेलमा दुई ओभर बलिङ्ग गरिरहेका छन् ।

४. इर्फान पठान

बायाँ हाते स्विङ बलर इर्फान ब्याटिङ्गमा पनि अझै उस्तै देखिन्छन् । रोड सेफ्टी वल्र्ड सिरिजमा उनले एक इनिङ्गसमा ३४ बलमै ६१ रन बनाएका थिए । उनले तेश्रो नम्बरमा ब्याटिङ्ग गर्दै आइरहेका छन् । इङ्गल्याण्ड लेजेण्ड्सबिरुद्ध भएको खेलमा उनले पाँच छक्का प्रहार गरेका थिए । भारतको एक मात्र हार त्यही खेलमा थियो । तर उनले भारतलाई जितको मुखसम्म पुर्याएका थिए ।

५. युसुफ पठान

युसुफले भर्खरै मात्र सकृय त्रिकेटबाट सन्यास लिएका हुन् । एक कुशल अलराउण्डर युसुफले बलिङ्गबाट १० विकेट लिएका छन् भने ब्याटिङ्गबाट पनि उल्लेखनीय योगदान दिदै आएका छन् । ३८ बर्षिय युसुफ अझै पनि आफू पूर्ण रुपमा फिट रहनुका साथै भारतीय टोलीमै खेल्न सक्षम रहेको साबित गर्दै आएका छन् ।

Click to comment

Trending