Headline

बटलरको अर्धशतकमा इंग्ल्यान्डलाई अग्रता

Published

on

ओपनर जस बटलरले उत्कृस्ट अर्धशतक प्रहार गरेसँगै इंग्ल्यान्डले घरेलु टोली भारतलाई तेश्रो ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको अन्तरले पराजित गरेको छ । आजको खेलमा सहज जित निकाल्दै पाहुना टोलीले पाँच खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ ।

भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ दशमलब दुई ओभर खेल्दै दुई विकेटको नोक्सानीमा पार गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनर बटलरले अविजित रहँदै सर्वाधिक ८३ रन बनाए । ५२ बलको सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक इंग्ल्यान्डको लागि जोनी बैरस्टोले २८ बलमा अविजित ४० रनको पारी खेले भने जासन रोय र डाविड मालानले पनि क्रमसः नौं र १८ रनको योगदान दिए ।

खराब सुरुवात गरे पनि कप्तान बिराट कोहलीले लगातार दोश्रो खेलमा आक्रमक अर्धशतक प्रहार गरे पछि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रन मात्र बनाउन सक्यो ।

भारतको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ४६ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गरे । जारी ट्वान्टी ट्वान्टी शृंखलामा कोहलीको यो लगातार दोश्रो अर्धशतक हो । पहिलो खेलमा डक आउट भएका कप्तान कोहलीले दोश्रो खेलमा अविजित रहँदै सर्वाधिक ७३ रन बनाएका थिए ।

भारतका ओपनर केएल राहुल आजको खेलमा पनि शुन्य रनमा आउट हुन पुगे । पहिलो खेलमा एक रन मात्र जोडेका राहुल लगातार दोश्रो खेलमा पनि डक-आउट हुन पुगे । अघिल्ला दुई खेलमा बेञ्चमा नै बिताएका रोहित शर्माले पनि १५ रन भन्दा जोड्न सकेनन् । दुबै जना मार्क उडको शिकार बन्न पुगे ।

दोश्रो खेलमा भारतको लागि डेब्यु गरेका इशान किशानले अर्धशतकीय पारी खेले पनि आजको खेलमा चार रन मात्र जोड्न सके । विकेट किपर ब्याट्सम्यान रिशब पन्तले २५ तथा श्रेयस ऐयरले नौं रन भन्दा जोड्न सकेनन् भने पारीको अन्तिम बलमा आउट भए हार्दिक पान्ड्याले १७ रनको पारी खेले ।

इंग्ल्यान्डका मार्क उडले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने क्रिस जोर्डनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending