अन्तर्राष्ट्रिय

कोहलीको लगातार दोश्रो अर्धशतकमा भारतको मध्यम योगफल

Published

on

खराब सुरुवात गरे पनि कप्तान बिराट कोहलीले लगातार दोश्रो खेलमा आक्रमक अर्धशतक प्रहार गरे पछि घरेलु टोली भारतले इंग्ल्यान्डलाई तेश्रो ट्वान्टी ट्वान्टी खेलमा १५७ रनको मध्यम लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी क्रिकेट रंगशाला, अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रन मात्र बनाउन सक्यो ।

भारतको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ४६ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गरे । जारी ट्वान्टी ट्वान्टी शृंखलामा कोहलीको यो लगातार दोश्रो अर्धशतक हो । पहिलो खेलमा डक आउट भएका कप्तान कोहलीले दोश्रो खेलमा अविजित रहँदै सर्वाधिक ७३ रन बनाएका थिए ।

भारतका ओपनर केएल राहुल आजको खेलमा पनि शुन्य रनमा आउट हुन पुगे । पहिलो खेलमा एक रन मात्र जोडेका राहुल लगातार दोश्रो खेलमा पनि डक-आउट हुन पुगे । अघिल्ला दुई खेलमा बेञ्चमा नै बिताएका रोहित शर्माले पनि १५ रन भन्दा जोड्न सकेनन् । दुबै जना मार्क उडको शिकार बन्न पुगे ।

दोश्रो खेलमा भारतको लागि डेब्यु गरेका इशान किशानले अर्धशतकीय पारी खेले पनि आजको खेलमा चार रन मात्र जोड्न सके । विकेट किपर ब्याट्सम्यान रिशब पन्तले २५ तथा श्रेयस ऐयरले नौं रन भन्दा जोड्न सकेनन् भने पारीको अन्तिम बलमा आउट भए हार्दिक पान्ड्याले १७ रनको पारी खेले ।

इंग्ल्यान्डका मार्क उडले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने क्रिस जोर्डनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

पाँच खेलको शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो खेलमा भारत माथि आठ विकेटको सहज जित दर्ता गरे पछि दोश्रो खेलमा कप्तान बिराट कोहली र ओपनर इशान किशानले अर्धशतक प्रहार गर्दा इंग्ल्यान्ड सात विकेटले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending