Headline

नेपाली बास्केटबल कप्तान सदिश भारतको लिग खेल्दै

Published

on

नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले भारतको जयपुरमा हुने राजस्थान बास्केटबल लिग खेल्ने भएका छन् । सदिश प्रतियोगितामा सहभागि हुन शुक्रबार नै भारत प्रस्थान गरेका छन् ।

मार्च १५ देखि शुरु हुने प्रतियोगितामा कुल ६ टिमहरु रहेका छन् । एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष ४ स्थानमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । प्रतियोगिताको फाइनल मार्च २१ मा हुनेछ ।

सदिशले आफूलाई प्रतियोगिता आयोजकले नै सम्पर्क गर्दै खेल्नका लागि बोलाएको जानकारी दिए । “आयोजकहरुले मेरो खेलहरु फेसबुक लगायत अन्य भिडियोहरु मार्फत हेर्नुभएको रहेछ । केही दिनअघि मलाई फेसबुकमार्फत नै सम्पर्क गर्दै खेल्न निमन्त्रणा दिनुभएको हो,” सदिशले भने ।

प्रतियोगिता अघि खेलाडीहरुको ट्राइ आउट गर्दै ड्राफ्ट गरिएपनि सदिशलाई भने सिधै खेल्नका लागि नै बोलाइएको हो । उनी खेल्ने टिम भने पक्का भइसकेको छैन । नेपाली कप्तानले यो नेपाली बास्केटबलको लागि नै राम्रो अवसर हुन सक्ने बताएका छन् ।

“भारतको बास्केटबलको स्तर अहिले निकै राम्रो भइसकेको छ । राजस्थान लिगमा पनि राम्रा खेलाडीहरु हुनेछन् । मेरो लागि यो आफ्नो खेललाई अझै परिस्कृत गर्ने मौका हो । सँग–सँगै यसपटक त्यहा खेल्दै सबै अन्य नेपाली खेलाडीहरुको लागि केही गर्न सकिने रहेछ भने गर्नेछु,” उनले भने ।

२०१९ मा पहिलो संस्करणको राजस्थान बास्केटबल लिग २०२० मा भने कोरोनाका कारण हुन सकेको थिएन । सदिशको लागि बिदेशी लिगमा यो दोश्रो अध्याय हुनेछ । उनले यसअघि पनि बङ्गलादेशको लिग खेलेका थिए । सदिशले नेपाल बास्केटबल लिगमा पनि टाइम्स इन्टरनेशनल कलेजको टोलीलाई उपाधिसम्म डोर्याएका थिए ।

Click to comment

Trending