राष्ट्रिय

कप्तान अफगानको शतकमा अफगानिस्तानको विशाल स्कोर

Published

on

कप्तान अस्गर अफगानले शतक तथा इब्राहिम जद्रान र हाश्मतुल्लाह शाहिदिले अर्धशतक प्रहार गरे पछि अफगानिस्तानले जिम्बाब्बे विरुद्धको दोश्रो तथा अन्तिम टेस्टको पहिलो दिनमा नै विशाल योगफल बनाउन सफल भएको छ ।

शेख जायद क्रिकेट रंगशाला आबु धाबीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ९० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा ३०७ रन बनाएको छ ।

अफगानिस्तानको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अफगानले दिनको खेलको समाप्तिमा १०६ रन बनाएर अविजित रहेका छन् । टेस्ट क्रिकेटमा अफगानिस्तानको तर्फबाट दोश्रो तथा व्यक्तिगत पहिलो शतक प्रहार गरेका अफगानले १३५ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरेका छन् ।

अफगानले दिनको खेल सकिंदा शाहिदिसँग मिलेर २९४ बलमा अविजित १८६ रनको साझेदारी गर्दै अफगानिस्तानलाई विशाल स्कोर तर्फ लगेका थिए । २२९ बल खेल्दै १२ चौका प्रहार गरेका शाहिदि ८६ रनमा अविजित छन् ।

ओपनर जावेद अहमादीलाई चार रनमा गुमाएर खराब सुरुवात गरेको अफगानिस्तानको लागि अर्का ओपनर जद्रानले ७२ तथा रहमत शाहले २३ रन जोड्न सफल रहे ।

दुई खेलको शृंखलामा जिम्बाब्वे १-० ले अघि रहेको छ । पहिलो टेस्टमा जिम्बाब्वेले अफगानिस्तानमाथि १० विकेटको फराकिलो जित दर्ता गराएको थियो ।

Click to comment

Trending