Headline

नेपाल पुलिस मेयर कपको फाइनलमा

Published

on

काठमाडौं मेयर ११ लाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब मयेर कपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा एपिएफसँग स्तब्ध भएको पुलिस त्यसपछि भने लगातार तीन खेल जित्दै फाइनल प्रवेश गरेको हो । फाइनलको लागि अब मेयर ११ सँगै, बागमती, त्रिभुवन आर्मी र एपिएफ दौडमा रहेका छन् ।

बागमतीले बिहिबार आर्मीसँग त्रिवि मैदानमा खेल्नेछ भने एपिएफले मुलपानीमा मेयर ११ को सामना गर्नेछ । दुई खेल जितेको एपिएफलाई सामान्य जितले पनि फाइनल पुर्याउनेछ तर बागमती र आर्मीलाई जित हात पारेपनि राम्रो रनरेट कायम गर्नु पर्ने दवाब रहनेछ ।

मेयर ११, बागमती र आर्मीको नाममा मात्र एक जित रहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको पुलिसले पहिलो विकेटको लागि आकर्षक शुरुवात गरेपनि ४७ दशमलव ४ ओभरमा मात्र १ सय ९७ रन बनाएको थियो । मेयर ११ का लागि हरि शंकर साह, सन्दिप लामिछाने र बिपिन खत्रीले ३–३ विकेट लिएका थिए ।

दिपेन्द्र सिँह ऐरिले तीन विकेट लिएपछि मेयर ११ ले आफ्नो पहिलो पाँच विकेट मात्रै ३३ रनमा गुमाएको थियो । यस क्रममा भरपर्दा दुई ब्याट्स्म्यान सौरभ खनाल र सन्दिप रजाली सस्तैमा पेभिलियन फर्कदा मेयर ११ निकै दवाबमा आएको थियो ।

कप्तान सन्दिप लामिछानेले कृष्ण कार्कीसँग छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे पनि दुवै ब्याट्स्म्यान तीन बलको अन्तरमा आउट हुँदा मेयर ११ ३१ द्यशमलव २ ओभरमा मात्र ९४ रनमा सेमेटिन पुग्यो । सन्दिपले तीन चौका र दुई छक्काको मद्दतमा १७ बलमा २६ रन बनाए भने कृष्णले १९ र सिद्धान्त लोहनीले १८ रन बनाएका थिए ।

अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंक छुन सकेनन् । पवन शर्राफले एक पटक फेरि कसिलो बलिङ्ग गर्दै ६ दशमलव २ ओभरमा चार विकेट लिएका थिए । ललित नारायण राजबंशीले पनि दुई विकेट हात पारेका थिए ।

यसअघि निकै आकर्षक शुरुवात गरेको पुलिसका लागि कुशल भुर्तेल र सुनिल धमलाले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । तर हरिले आफ्नो पहिलो दुई ओभरमा दुवै ब्याट्स्म्यानलाई पेभिलियन फर्काएपछि पुलिस रोकिएको थियो ।

कुशलले २९ बलमा ३ छक्का र तीन चौका प्रहार गर्दै ३४ रन बनाए भने धमलाले २४ बलमा तीन चौका र एक छक्का हिर्काउदै २२ रन जोडेका थिए ।

सन्दिपले अनिल कुमार साह (६) र बिपिनले यसअघिको खेलमा शतक प्रहार गरेका दिपेन्द्र सिँह ऐरिलाई पेभिलियन फर्काएपछि पुलिसले दवाबमा खेल्न थालेको थियो । दिपेन्द्रले ३८ बलमा तीन चौका प्रहार गर्दै ३८ रन बनाए ।

योगेन्द्र सिँह कार्कीले मिडल अर्डर सम्हाल्ने प्रयास गरेपनि बिपिनकै बलमा खडग बोहोराबाट स्टम्पिङ्ग भएका थिए । योगेन्द्रले पुलिसका लागि सर्वाधिक ४० रन बनाए । ५५ बलको सामना गरेका उनको इनिङ्गसमा चार चौका सामेल थियो ।

पवन शर्राफले ५१ ब्लमा २८ रन बनाए । सन्दिपले १० ओभरमा ३५ रन खर्चिए भने हरिले ९ दशमलव चार २८ रन खर्चिएका थिए । बिपिनले ९ ओभरमा ५४ रन दिएका थिए ।

Click to comment

Trending