Headline

बार्साको बोर्डमा फर्किए लापोर्टा, दिए मेस्सीलाई बिशेष सन्देश

Published

on

क्लबमा व्याप्त संस्थागत र आर्थिक संकटबाट उकास्न बार्सिलोना सदस्यहरुले जोआन लापोर्टालाई नयाँ अध्यक्षमा निर्वाचित गरेका छन् । लापार्टोले नै बार्सिलोनाको भाग्यलाई चम्काउदै बिश्व फुटबलको एक सशक्त क्लब बनाउन प्रमुख भुमिका खेलेका थिए ।

सन् २००३ देखि २०१० सम्म सात बर्ष नेतृत्व सम्हालेका लापोर्टाले आइतबार भएको चुनावमा ५४ दशमलव २८ प्रतिशत मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्दी भिक्टर फन्टले २९ दशमलव ९९ र टोनी फ्रेक्जियाले ८ दशमलव ५८ प्रतिशत भोट ल्याएका थिए ।

गत अगष्टमा लियोनल मेस्सीले क्लब छोड्ने अथक प्रयास गर्दा उनको बिरुद्धमा रहेका सदस्यहरुबाट अविश्वासको प्रस्ताव आउने देखिएपछि अक्टोबरमा योसेप मारिया बार्तोमेउले राजीनामा दिएका थिए । ओसासुनालाई २–० ले पराजित गर्दै दोश्रो स्थानमा उक्लिएपछि मेस्सी लगायत अन्य धेरै खेलाडीहरुले मतदान गरेका थिए ।

५१ हजार ७ सय ६५ जना योग्य मतदाताहरु मध्ये ३० हजार १ सय ८४ ले लापोर्टाको पक्षमा मतदान गरेका थिए । जितपछि क्लब एन्थम गाँउदै स्याम्पेनका साथ खुशीयाली मनाएका लापोर्टाले आफ्नो भाषणमा मेस्सीको बिषयमा पनि बोलेका थिए ।

“२० बर्षअघि बार्साको युथ टिमका लागि २० बषिर्य लियो मेस्सी नाम गरेका सानो केटाले डेब्यु गरेका थिए । बिश्वकै उत्कृष्ट खेलाडी आज भोट गर्न आउदा के स्पष्ट हुन्छ भने मेस्सी बार्सालाई माया गर्छन् । म आशा गर्छु उनी सबैले चाहे जस्तै क्लबै रहनेछन्,” क्लबमा चार महिनाको मात्र सम्झौता बाकी रहेको मेस्सी बारे लापोर्टाले भने ।

लापोर्टाको यसअघिको कार्यकालमा बार्साले चार स्पेनिस ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

Click to comment

Trending