Headline

बागमतिको लगातार दोश्रो हार, सन्दिपको अलराउण्ड प्रदर्शन

Published

on

बागमती प्रदेशले मेयर कप क्रिकेट प्रतियोगितामा लगातार दोश्रो पराजय व्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा दोश्रो दिन बागमती प्रदेशका उत्कृष्ट खेलाडीहरुले भरिएको मेयर ११ सँग ९४ रनको फराकिलो अन्तरले पराजित यो ।

शनिबार प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबसँग दुई रनको झिनो अन्तरले हार व्यवहोरेको बागमतिलाई आइतबारको हारले उसनको फाइनलसम्मको यात्रा निकै कठिन हुने देखिएको छ । एक चरणको राउण्ड रोबिन लिगपछि पाँच टिममध्ये शिर्ष दुई स्थानमा रहने दुई टोलीले सिधै फाइनल खेल्नेछन् ।

मेयर ११ लाई टस जिति पहिलो ब्याटिङ्गको निम्तो दिदै ४३ रनमा पाँच विकेट लिदासम्म बागमतिको निर्णय सहि साबित भएको थियो । तर मध्य र तल्लो क्रमले महत्वपूर्ण साझेदारी गरेपछि ९ विकेटको क्षतिमा २ सय ४४ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो ।

बागमति जवापमा ३४ दशमलव १ ओभरमा मात्रै १ सय ५० रनमा अलआउट भयो । पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल (१७) र आदिल खानले ३६ रनको आकर्षक शुरुवता दिएपनि स्पिनर बिपिन खत्रीले ज्ञानेन्द्र र पारस खड्काको मत्वपूर्ण विकेट लिदै बागमतीलाई नराम्रो झड्का दिएका थिए । आदिल १५ रन बनाई कृष्ण कार्कीको बलमा आउट भए ।

पृथु बास्कोटाले इशान पाण्डेसँग ४८ रनको साझेदारी गर्दै इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि बागमतीलाई सन्दिप लामिछनोले दुई बलमा दुई विकेट लिएर फेरि ब्याक फुटमा धकेलेका थिए । सन्दिपले इशान (१७) र बिपिन (डक) लाई एलबिडब्लु धरापमा पारेका थिए ।

आठौं विकेटको रुपमा अनिल खरेलले पृथुलाई बोल्ड गरेपछि खेलमा औपचारिकता मात्रै बाकी रहेको थियो । पछिल्लो केही समय फर्ममा रहेका पृथुले ७९ बलमा ६० रन जोडे । उनले ८ चौका प्रहार गरे । सन्दिप बाहेक बिपिन र अनिलको नाममा दुई–दुई विकेट रह्यो ।

यसअघि मेयर ११ ले खेलमा छैटौं विकेटको साझेदारीसँगै राम्रो पुनरागमन गरेको थियो । सन्दिप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै मेयर ११ लाई खेलमा फर्काएका थिए । दुई सेट ब्याट्स्म्यान मात्र पाँच रनको अन्तरमा आउट भएपछि उसले १ सय १९ रनमा सात विकेट गुमाएको थियो ।

त्यसपछि कप्तान सन्दिप लामिछाने र सौरभ खनालले ५७ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । निकै आक्रमक ब्याटिङ्ग गरेका सन्दिपले ६ छक्का प्रहार गर्दै २० बलमा ४२ रन बनाए । अर्को ठूलो शट खेल्ने चक्करमा नन्टन यादवको बलमा आउट भएपछि सौरभले बिपिन खत्रीसँग नवौं विकेटका लागि ६० रनको पार्टनरसिप गरे ।

बिपिनले ३२ बलमा ३० रन बनाए । सौरभले ५८ बलमा ६ चौका र एक छक्काको मद्दतमा नटआउट रहदै सर्वाधिक ४९ रन बनाए । सिद्धान्तले ६७ बलमा ३४ र सन्दिप रजालीले ५८ बलमा ३३ रन बनाए । उनले चार चौका प्रहार गरे ।

नन्दनले बागमतीका लागि चार विकेट लिए भने रामनरेश गिरी र अरियो पौडेलले पनि दुई–दुई विकेट हात पारेका थिए ।

Click to comment

Trending