Headline

मेयर ११ ले मुलपानीमा बागमतीलाई दियो २ सय ४४ रनको चुनौतिपूर्ण लक्ष्य

Published

on

काठमाडौं मेयर ११ ले ब्याटिङ्गबाट पुनरागमन गर्दै मेयर कपको आफ्नो पहिलो म्याचमा बागमती प्रदेशलाई मुलपानी क्रिकेट मैदानमा २ सय ४५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

टस हारी पहिलो ब्याटिङ्ग गरेको मेयर ११ ले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४४ रन बनायो । पहिलो पाँच विकेटमात्र ४३ रनमा गुमाएको मेयर ११ प्रदेशका उत्कृष्ट खेलाडीहरुको संयोजनमा बनेपनि धराशायी हुने देखिएको थियो । तर उसले छैटौं विकेटदेखि राम्रो पुनरागमन गर्यो ।

सन्दिप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै मेयर ११ लाई खेलमा फर्काएका थिए । दुई सेट ब्याट्स्म्यान मात्र पाँच रनको अन्तरमा आउट भएपछि उसले १ सय १९ रनमा सात विकेट गुमाएको थियो । त्यसपछि कप्तान सन्दिप लामिछाने र सौरभ खनालले ५७ रनको अर्को महत्वपूर्ण साझेदारी गरे ।

निकै आक्रमक ब्याटिङ्ग गरेका सन्दिपले ६ छक्का प्रहार गर्दै २० बलमा ४२ रन बनाए । अर्को ठूलो शट खेल्ने चक्करमा नन्टन यादवको बलमा आउट भएपछि सौरभले बिपिन खत्रीसँग नवौं विकेटका लागि ६० रनको पार्टनरसिप गरे । बिपिनले ३२ बलमा ३० रन बनाए ।

सौरभले ५८ बलमा ६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए । सिद्धान्तले ६७ बलमा ३४ र सन्दिप रजालीले ५८ बलमा ३३ रन बनाए । उनले चार चौका प्रहार गरे । नन्दनले बागमतीका लागि चार विकेट लिए भने रामनरेश गिरी र अरियो पौडेलले पनि दुई–दुई विकेट हात पारेका थिए ।

Click to comment

Trending