Headline

गुप्टिलको अर्को आकर्षक प्रदर्शनमा न्युजिल्याण्डलाई श्रृंखला

Published

on

इन–फर्म मार्टिन गुप्टिलले निर्णायक खेलमा पनि आफ्नो फर्मलाई कायम राख्दा न्युजिल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै पाँच म्याचको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ ।

वेलिंगटनमा पहिलो ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४२ रनको सामान्य योगफलमै खुम्चिएको थियो । गुप्टिलले पहिलो विकेटका लागि डेभोन कन्वेसँग शतकीय साझेदारी गरेपछि न्युजिल्याण्डले १५ दशमलव ३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

न्युजिल्याण्डले पहिलो दुई ट्वान्टी ट्वान्टी जितेपछि अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जित्दै श्रंखला २–२ को बराबरीमा आइपुगेको थियो । न्युजिल्याण्डलाई फर्ममा फर्कन आवश्यक रहेको स्थितिमा गुप्टिलले उच्च प्रदर्शन गरेका थिए ।

राइली मेरडिथले ३६ रन बनाएका कन्वे र कप्तान केन विलियम्सनलाई लगातार दुई बलमा पेभिलियन फर्काए पनि गुप्टिलले न्युजिल्याण्डलाई सहज जिततर्फ धकेलेका थिए । उनले ४६ बलमा सात चौका र चार छक्काको मद्दतमा ७१ रन बनाए ।

कन्वेले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले १६ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा नटआउट ३४ रनको योगदान दिए ।

यसअघि अष्ट्रेलियाले ओपनर जोश फिलिपलाई दुई रनमै गुमाएपनि कप्तान आरोन फिन्च र म्याथ्यु वेडले ६६ रनको साझेदारी गर्दै इनिङ्गस सम्हालेका थिए । तर इशा सोढीले निकै कसिलो बलिङ्ग गरेपछि अष्ट्रेलियाको मिडल अर्डरले चाहे अनुरुपको प्रदर्शन गर्न सकेन ।

सोढी चार ओभरमा मात्र २४ रन खर्चदै तीन विकेट लिएका थिए । टिम साउदी र ट्रेन्ट बाउल्टले पनि २–२ विकेट हात पारेका थिए ।

वेडले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का हिर्काए । आरोन फिन्चले ३२ बलमा ३६ रन बनाए । उनको इनिङ्गसमा पाँच चौका र एक छक्का सामेल थियो ।
मार्कस स्टोइनिसले २६ र मिचेल मार्सले १० रन बनाए ।

Click to comment

Trending